चीनमा १ सय १६ वर्षयताकै धेरै हिमपात

चीनमा १ सय १६ वर्षयताकै धेरै हिमपात


काठमाडौं, २५ कात्तिक । चीनको उत्तर पूर्वी क्षेत्रमा भीषण हिमपात भएको छ । १ सय १६ वर्षयताकै धेरै हिमपात भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छ । केही ठाउँमा अहिलेसम्मकै रेकर्ड तोड्ने गरी भएको भारी हिमपातका कारण बिजुली, सडक यातायात, हवाई यातायातलगायतका सेवा ठप्प भएको छ ।
लिओनिङ प्रान्तको राजधानी शेनयाङमा २० इन्चसम्म हिउँ परेको छ । मंगोलियाको सहर टोङलियाओका मौसमविद्ले हिमपात निकै अनियमित र अचानक भइरहेकाले अनुमान गर्न पनि गाह्रो भइरहेको बताएका छन् । हिमपातका कारण मंगोलियामा एक जनाको मृत्यु भएको छ भने पाँच हजार भन्दा धेरै प्रभावित भएका छन् ।
यस्तै २७ ठाउँमा हिम तुफानको चेतावनी जारी गरिएको छ । सडक र रेल यातायात बन्द हुँदा कोइलाको आपूर्तिमार्फत घरहरू न्यानो बनाउने योजना पनि प्रभावित भएको बताइएको छ ।