भारतमा जिका भाइरसको संक्रमण, उत्तर प्रदेशमा मात्र ८९ जनामा संक्रमण पुष्टि

भारतमा जिका भाइरसको संक्रमण, उत्तर प्रदेशमा मात्र ८९ जनामा संक्रमण पुष्टि


काठमाडौं, २२ कात्तिक । भारतमा जिका भाइरसको संक्रमण फैलिँदै गएको छ । उत्तर प्रदेशको सबैभन्दा धेरै जनसंख्या भएको जिल्लामा १७ जना बालबालिकासहित कम्तिमा ८९ जनामा जिका भाइरसको संक्रमण देखिएको हो । कानपुरका प्रमुख मेडिकल अधिकृत डाक्टर नेपाल सिंहले पछिल्ला दिनमा संक्रमण बढ्दै गएको बताएको खबरमा उल्लेख छ । भारतमा पहिलो पटक सन् २०१७ मा गुजरातमा जिका भाइरसको संक्रमण देखिएको थियो ।
अहिले कानपुरपछि उत्तर प्रदेशमा संक्रमण देखिनु डरलाग्दो विषय भएको भन्दै स्वास्थ्य अधिकारीहरूले प्रकोपको निगरानी गर्न र फैलावट रोक्न टोली गठन गरेको बताएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जिका भाइरस सहरमा छिटो फैलिएको उल्लेख गर्दै अधिकारीहरूलाई विशेष सावधानी अपनाउन र अनुगमन गर्न निर्देशन दिएका छन् ।
लामखुट्टेको टोकाइ र यौन सम्पर्कबाट सर्ने यो भाइरस मानिसको दिमाग खुम्चने र रोग प्रतिरक्षा प्रणाली कमजोर हुने विषयसँग जोडिएको हुन्छ । जिका भाइरस पहिलो पटक सन् १९४७ मा युगान्डाको बाँदरमा पहिचान भएको थियो । यसको अहिलेसम्म कुनै औषधि पत्ता नलागेकाले सङ्क्रमण हुनै नदिनु नै रोकथामको एकमात्र उपाय भएको डाक्टरहरूले बताएका छन् ।