अष्ट्रेलियामा घट्यो कोरोना दैनिक संक्रमण दर, एकैदिन १० जनाको मृत्यु

अष्ट्रेलियामा घट्यो कोरोना दैनिक संक्रमण दर, एकैदिन १० जनाको मृत्यु


मेलबर्न, अष्ट्रेलिया ।

कोभिड १९ कोरोनाको संक्रमणदर दैनिक सार्वजनिक गर्दै आएका अष्ट्रेलियाका विभिन्न राज्यहरुको पछिल्लो स्थिति सुधारिएको छ । अष्ट्रेलियामा गएको २४ घण्टामा कूल १० जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् । यो संख्या एउटै राज्यमा २५ सम्म पुगेको थियो । तर, गएको २४ घण्टामा भिक्टोरियामा चार जना, न्यूसाउथवेल्समा ४ जना र अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा २ जना गरी कूल १० जनाको निधन भएको हो ।


यसैगरी गएको २४ घण्टामा भिक्टोरियामा १४ सय ७१ नयाँ कोरोना संक्रमित भेटिएका छन् । त्यसको अघिल्लो दिन जम्मा ११ सयको हाराहारीमा यो संख्या थियो । तर, खुशीको खबर भिक्टोरियामा ८१ प्रतिशतले दुबै डोज कोरोना खोप लगाएका छन् भने पहिलो डोज कोरोनाखोप लगाउने १६ वर्षमाथिको उमेर समूहको जनसंख्याको ९२ दशमलब ६ प्रतिशत पुगेको छ ।

उता न्यूसाउथवेल्समा पनि दुबै डोज खोप लगाउनेको संख्या ८७ दशमलब ७ पुगेको छ भने पहिलो डोज लगाउनेहरुको संख्या ९३ दशमलब ६ पुगेको छ । अष्ट्रेलियन क्यापिटल टेरेटोरीमा पाँच नयाँ कोरोना संक्रमित भेटिएका छन् । १२ वर्षउमेरमाथिको ९२ दशमलब ६ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएका छन् । क्वीन्सल्याण्डमा शून्य नयाँ कोरोना संक्रमित छन् भने पहिलो डोज लगाउनेको संख्या ७७ दशमलब ६ पुगेको छ । यस्तै दुबै डोज लगाउनेहरुको संख्या ६३ दशमलब ९ रहेको छ ।

न्यूजिल्याण्डमा १ सय ६२ नयाँ संक्रमित

अष्ट्रेलियाको नजिकैको देश न्यूजिल्याण्डमा एकैदिन १ सय ६२ जना कोरोना संक्रमित भेटिएका छन् । यो संख्या डेल्टा भेरियन्टको फैलावट सुरुभएयताकै सबैभन्दा धेरै हो । यसैविषयमा छलफल गर्न आज मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । कूल जनसंख्याको ७५ प्रतिशतले कोरोना विरुद्धको खोप दुबै मात्रा लगाइसकेका छन् । अहिले फैलिरहेको कोरोनाको संक्रमण अकल्याण्डबाट सुरु भएको थियो ।