भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण, चीनको जुनसुकै ठाउँमा मार हान्न सक्ने क्षमता

भारतद्वारा नयाँ क्षेप्यास्त्र परीक्षण, चीनको जुनसुकै ठाउँमा मार हान्न सक्ने क्षमता


काठमाडौं, ११ कात्तिक । भारतले परमाणु शक्ति सम्पन्न अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको छ । भारतले ओडिसास्थित डा.एपीजे अब्दुल कलाम टापूमा अग्नि–५ नामक अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको हो । परीक्षण गरिएको ब्यालेष्टिक क्षेप्यास्त्रले ५ हजार किलोमिटर परसम्म मार हान्न सक्ने बताइएको छ ।

भारत सरकारले विज्ञप्ति जारी गर्दै ‘न्यूनतम रक्षा क्षमता हासिल गर्ने भारतीय नीति अनुसार’ र आणविक हतियार ‘आफूले पहिला प्रयोग नगर्ने प्रतिबद्धता’ अनुसार पछिल्लो क्षेप्यास्त्र परीक्षण गरिएको प्रस्ट पारेको छ । परीक्षण गरिएको अग्नि–५ क्षेप्यास्त्रले चीनको कुनै पनि भू–भागसम्म मार हान्न सक्छ । यही भएर केही दिनअघि चीनले उक्त क्षेप्यास्त्रलाई लिएर आपत्ति जनाएको थियो । पछिल्ला केही वर्षदेखि चीनले आफ्नो आणविक हतियार भण्डारलाई विस्तार र थप परिस्कृत गर्दै आएको छ । बेइजिङको उक्त कदमपछि नयाँ दिल्लीले समेत आफ्नो आणविक क्षमता सुदृढ बनाउन बाध्य भएको हो । भारतले छिमेकी मुलुक पाकिस्तानभित्रको कुनै पनि भू–भागमा मार सक्ने क्षमताका क्षेप्यास्त्र यसअघि नै परीक्षण गरिसकेको छ । सन् १९९० देखि मध्यम तथा लामो दूरीका क्षेप्यास्त्र परीक्षण गर्दै आएको भारतले चीनसँग बढ्दो रणनीतिक प्रतिस्पर्धाबीच पछिल्लो क्षेप्यास्त्र परीक्षण गरेको हो ।