भिक्टोरियामा कोभिडका १५३४ नयाँ संक्रमित, फाईजर बुष्टर डोजले पायो मान्यता !

भिक्टोरियामा कोभिडका १५३४ नयाँ संक्रमित, फाईजर बुष्टर डोजले पायो मान्यता !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा गएको २४ घण्टामा १५ सय ३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १६ वर्षभन्दा माथि उमेर समूहका ९० दशमलब ८ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् भने दोहोरो खोप लगाउनेको संख्या ७६ प्रतिशत पुगेको छ । यो शुक्रबारसम्म ८० प्रतिशतको आंकडा पार हुने लक्ष्य छ । भिक्टोरियाको दक्षिणपूर्वी क्षेत्रमा पछिल्लो समय सबैभन्दा बढी संक्रमित भेटिएका छन् भने यसले स्वास्थ्य अधिकारीहरुलाई चिन्तित तुल्याएको जनाइएको छ ।

भिक्टोरियाका चिफ हेल्थ अफिसर प्रोफेसर ब्रेट सुट्टोनले १५ सय ३४ मध्ये केसी र ग्रेटर डेन्डीनोंग क्षेत्रमा मात्रै १ सय ६९ र १ सय ४० जना नयाँ संक्रमित फेला परेको जानकारी दिए । यस्तै लाट्रोव क्षेत्रमा ४१ र उडुंगामा ३६ जना संक्रमित फेला परेका छन् ।

आगामी शुक्रबार साँझ ६ बजेदेखि राज्यमा लगाइएका थप प्रतिबन्धहरुलाई हटाउने तयारी गरिएको छ ।

यस्तो छ आँकडा

यसैबीच, अष्ट्रेलियामा फाईजर खोपको बुष्टर डोज अर्थात् तेश्रो डोज लगाउने अनुमति दिइएको छ । दोश्रो खोप लगाएको ६ महिनापछि यस्तो बुष्टर डोज लगाउन सकिनेछ । थेराप्युटिक गुड्स एडिमिनिष्ट्रेसनले बुधबार फाईजर खोपको बुष्टर डोजलाई अनुमति प्रदान गरेको हो । १८ वर्षभन्दा कम उमेरकाहरुलाई भने यस्तो बुष्टर डोज लगाउने अनुमति छैन ।

फाईजरको बुष्टर डोज अन्य कुनैपनि दुई डोज खोप लगाएकाहरुलाई दिन सकिनेछ । स्वास्थ्यमन्त्री ग्रेग हन्टले १ सय ५० मिलियन खोप खरिद सम्झौता भइसकेकोले तेश्रो डोज लगाउन कुनै समस्या नहुने बताएका छन् । तेश्रो बुष्टर डोज लगाएपछि मानिसहरुले कोरोना विरुद्ध लड्ने क्षमता लामो समयसम्म रहने बताइएको छ । यद्यपि मानिसहरुले अर्को चौथो डोज पनि चाहिने हो कि भन्ने आशंका गरेका छन् ।

हाल अष्ट्रेलियाको कूल वयष्क जनसंख्याको ८७ प्रतिशतले पहिलो डोज खोप लगाएका छन् भने ७४ दशमलब १ प्रतिशतले दुबै खोप लगाइसकेका छन् ।