जापानकी राजकुमारीले गरिन् प्रेमीसँग विवाह, गुम्यो पदवी

जापानकी राजकुमारीले गरिन् प्रेमीसँग विवाह, गुम्यो पदवी


काठमाडौं, ९ कात्तिक । जापानकी राजकुमारी माकोले आफ्ना प्रेमीसँग विवाह गरेकी छन् । राजकीय हैसियत त्याग गरेर राजकुमारीले आफ्नो प्रेमी केइ कोमुरोसँग विवाह गरेकी हुन् । सर्वसाधारण नागरिकसँग बिहे गरेपछि उनको शाही पदवी गुमेको छ । कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए । जापानको कानुनअनुसार ‘जनता’सँग विवाह गर्दा राजपरिवारका महिला सदस्यको शाही हैसियत गुम्छ तर पुरुष सदस्यको हकमा भने त्यसो हुँदैन ।

राजपरिवारका सदस्यको विवाहका बेला गरिने परम्परागत विधि पनि उनले अवलम्बन गरिनन् । राजपरिवारबाट बिदा हुँदा महिला सदस्यले पाउने नगद पनि उनले अस्वीकार गरेकी छन् । यी दुवै कुरा परित्याग गर्ने उनी जापानी राजपरिवारकी प्रथम महिला सदस्य हुन् । नवविवाहित दम्पती अमेरिका गएर बस्ने अनुमान गरिएको छ । कोमुरो अमेरिकामा वकिल छन् ।

माकोको विवाह र त्यससँग सम्बन्धित निर्णयहरूलाई ब्रिटिश राजकुमार ह्यारी र मेगन मार्कलको कदमसँग दाँजिएको छ । केहीले उनीहरुलाई जापानका ह्यारी र मेगनको संज्ञा दिएका छन् ।