सैन्य ‘कु’ विरोधमा सुडानमा देशभर प्रदर्शन, सात जनाको मृत्यु

सैन्य ‘कु’ विरोधमा सुडानमा देशभर प्रदर्शन, सात जनाको मृत्यु


काठमाडौं, ९ कात्तिक । अफ्रिकी मुलुक सुडानमा सैनिक कु पछि चर्केको आन्दोलनमा ७ जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा सेनाले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । त्यस क्रममा १ सय ४० जना घाइते भएका छन् ।

सेनाले देशका प्रधानमन्त्री र अन्तरिम सरकारका मन्त्रीहरुसहित कैयौं सदस्यहरुलाई गिरफ्तार गरी सत्ता हत्याएपछी राजधानी खार्तुममा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । प्रदर्शनमा सहभागीहरुले सडकमा टायर बाली बिरोध जनाउनुका साथै भौतिक सम्पतीमा आगजनी गरेपछि सेनाले गोली प्रहार गर्नुका साथै अन्धाधुन्ध लाठी चार्ज गरेको बताइएको छ । सुडानको सेनाले अमेरिकाका विशेष प्रतिनिधिको उपस्थितिमा सत्तारुढ परिषद्सँग सम्झौतापछि पनि सत्ता कब्जामा लिएको हो ।

सेनाले देशको सरकारी टिभी र रेडियो मुख्यालयलाई आफ्नो नियन्त्रणमा लिएको छ । सत्ता कब्जा लगत्तै प्रधानमन्त्री लगाएत सरकारका जिम्मेवार पदमा रहेकाहरुलाइ गिरफ्तार गरेपछि हजारौं प्रदर्शनकारी सडकमा उत्रेका हुन् । उनीहरुले नागरिक शासन फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । सुडानमा ३० वर्षदेखि राज गरिरहेको ओमर अल बशीरलाई सत्ताबाट हटाएपछि दुई वर्षअघि अन्तरिम सरकार अस्तित्वमा आएको थियो । त्यही बेलादेखि सेना र नागरिक सरकारबीच टकरावको स्थिति बनिरहेको छ ।