सुडानमा सैन्य ‘कू’, गैरसैनिक सरकार विघटन, नेताहरू गिरफ्तार

सुडानमा सैन्य ‘कू’, गैरसैनिक सरकार विघटन, नेताहरू गिरफ्तार


काठमाडौं, ८ कात्तिक । सुडानमा सैन्य कू भएको छ । सुडानको सेनाले गैरसैनिक सरकार विघटन गर्दै राजनीतिक नेताहरुलाई गिरफ्तार गरी संकटकाल घोषणा गरेको हो । सेनाले सत्ता हातमा लिएपछि प्रधानमन्त्री अब्दुल्ला हमदुकसहित मन्त्रिपरिषद्का अन्य सदस्यलाई गैरसैनिक नेताहरुसँगै नजरबन्दमा राखिएको बताइएको छ । सैनिक जनरल अब्देल फतह बुर्हानले राजनीतिक झैगडालाई दोष दिएका छन् ।

लामो समय सुडानमा शासन गरेका ओमार अल–बशिरको सरकार अपदस्थ भएर दुई वर्षअघि संक्रमणकाली सरकार बनेपछि त्यहाँ सेना र गैरसैनिक नेताहरुबीच द्वन्द्व चर्किएको छ ।  सुडान आर्थिक संकटबाट गुज्रिरहेको छ । सेनाले सत्ता हातमा लिएपछि आर्थिक संकट अझ गहिरिने देखिएको छ ।

सैन्य कूको विरोध गर्दै राजधानी खार्तुममा आन्दोलन चर्किएको छ । आन्दोलनकारीहरुमाथि सेनाले गोली चलाएको विवरणहरु पनि सार्वजनिक भएका छन् । प्रदर्शनकारीहरुले सैन्य मुख्यालय नजिकको क्षेत्रमा प्रदर्शन गरेका हुन् ।

सैनिक जनरल बुर्हानले सेना र नागरिक नेताहरुबीचको शक्ति बाँडफाँटअन्तर्गत गठित सार्वभौम परिषद्को नेतृत्व गरिरहेका छन् । टेलिभिजनबाट प्रसारित एउटा सन्देशमा उनले राजनीतिक नेताहरुले कलह गरेको, महत्वाकांक्षा राखेको र हिंसालाई उक्साएको आरोप लगाउँदै आफू देशको रक्षा र क्रान्तिलाई सही दिशा दिन अघि सर्न बाध्य भएको बताएका छन् । उनले सुडान अन्तर्राष्ट्रिय सम्झौतामा प्रतिबद्ध रहेको र सन् २०२३ मा तय गरिएको निर्वाचनबाट गैरसैनिक सत्ता हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।