Logo

बाढी पीडितको लागि अर्थसंकलन गर्दै एनआरएन अष्ट्रेलिया



सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले नेपालमा हालै आएको बाढी पहिरोमा परी पीडित बनेकाहरुको सहयोगका लागि अर्थसंकलन अभियान सुरु गरेको छ । हालसम्म एक सयभन्दा बढी नेपालीको बाढी पहिरोमा परी ज्यान गइसकेको छ भने १० हजारभन्दा बढी घरबारविहीन भएका छन् । यस्तै अविरल वर्षाका कारण कैयौं कृषकहरुको धानबाली नष्ट भएर उनीहरु पीडित बनेका छन् ।

एनआरएन अष्ट्रेलियाका महासचिव राजु अधिकारीले २४ अक्टोबरमा एक विज्ञप्ति जारी गर्दै घरबारविहीन बनेका नेपालीहरुलाई सहयोग गर्नका लागि आफ्ना सदस्यहरु र अष्ट्रेलियाको बृहद समूदायलाई आह्वान गरिएको बताए ।

एनआरएन अष्ट्रेलियाले नेपालमा कसरी सहयोग गरिनेछ भन्ने योजना भने सार्वजनिक गरेको छैन । एनआरएन आईसीसीले बाढी पीडितको सहयोगका लागि अपिल गरेपछि एनआरएन अष्ट्रेलियाले पनि आफ्ना सदस्यहरुमा अपिल गरेको हो ।

एनआरएन अष्ट्रेलियाले हाल रहेको कोषबाट ७ हजार डलर छुट्याएको छ भने अन्य सदस्य र सामूदायबाट आउने सहयोगलाई संकलन गरी नेपालमा वितरण गर्ने योजना बनाएको कोषाध्यक्ष अनिल पोखरेल बताए ।

यसैबीच, एनआरएन अष्ट्रेलियाले आफ्नो त्रैमासिक हिसाब सार्वजनिक गरेको छ । कोषाध्यक्ष अनिल पोखरेलले सार्वजनिक गरेको विवरण अनुसार अष्ट्रेलियाभर रहेका एनआरएनका विभिन्न खातामा गरी ७ लाख ३९ हजार ६ सय १६ डलर बचत रहेको देखिन्छ ।

यस्तै, एनआरएनको खातामा डिजाष्टर रिलिफ अन्तर्गत मात्रै २९ हजार १ सय ४८ डलर जम्मा रहेको छ ।