क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र : योजनालाई तिव्रता दिनुपर्ने निष्कर्श 

क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र : योजनालाई तिव्रता दिनुपर्ने निष्कर्श 


क्वीन्सल्याण्डमा नेपाली सामूदायिक केन्द्र बनाउने विषयमा छलफल सम्पन्न भएको छ । आईतबार स्प्रिंगफिल्ड लेकमा आयोजना गरिएको छलफलमा सहभागीहरुले कार्यसमितिसँग विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।

सामूदायिक केन्द्रले ब्रिसबेनका अन्य विभिन्न सबअर्बहरुमा पनि यसैगरी सामूदायिक केन्द्रका विषयमा जानकारी गराउने उद्देश्यसहित छलफल आयोजना गर्ने भएको छ ।

केविसीखबरसँग कुरा गर्दै क्वीन्सल्याण्ड नेप्लीज कल्चरल सेन्टरका संयोजक केशव शर्माले निकै रचनात्मक र सकारात्मक प्रतिक्रियाहरु आएको बताए । छलफलमा सहभागीहरुले मुख्यत सदस्यता वितरण प्रक्रियाको पुनसंरचना, योजनामा स्पष्टता र स्थानीय सरकारसँगको सहकार्यलाई मुख्य जोड दिएका थिए ।
शर्माले भने, “अहिलेसम्म भएका कामलाई तिव्रता दिँदै वर्षौंदेखिको हामी क्वीन्सल्याण्डवासी नेपालीहरुको भावनालाई मूर्तरुप दिने कार्यमा हामीलाई थप ऊर्जा मिलेको छ । यो छलफलबाट आएका सुझावलाई हामी आत्मसाथ गर्नेछौं ।”

उनले थपे, “यो क्रममा नेप्लीज एशोसिएसन अफ क्वीन्सल्याण्ड र एनआरएन क्वीन्सल्याण्डको सहयोग सहकार्य अविस्मरणीय रह्यो । छलफल कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वयंसेवकहरु लगायत सबैमा आभार ।”

हालसम्म सामूदायिक केन्द्र बनाउनका लागि १ सय ३८ जनाले आजीवन सदस्यता लिएका छन् भने २ लाख ७४ हजार डलरभन्दा बढी सहयोग संकलन गरिएको छ । पछिल्लो समयमा अन्य विभिन्न राज्यबाट क्वीन्सल्याण्डमा बसाई सरेर जाने नेपालीहरुको संख्या बढ्दै गएको छ ।