एनआरएन अष्ट्रेलियाले महाधिवेशनको लागि शुल्क बुझाएन, विवाद मुख्य कारण !

एनआरएन अष्ट्रेलियाले महाधिवेशनको लागि शुल्क बुझाएन, विवाद मुख्य कारण !


सिड्नी, अष्ट्रेलिया ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले हरेक २ वर्षमा नेतृत्व चयनका लागि आयोजना गर्ने विश्व सम्मेलन यतिबेला अन्योलमा छ । आगामी नोभेम्बर भित्रमा चुनाव गर्नेगरी प्रस्ताव भएपनि सम्मेलन हुनेमा सबै विश्वस्त हुन सकेका छैनन् । यतिबेला एकले अर्कोलाई आरोप प्रत्यारोपको क्रम चलिरहेको छ । एक पक्षले संरक्षक परिषद् स्वत सक्रिय भएको वर्तमान कार्यसमिति खारेज भएको बताइरहेको छ भने अर्को पक्षले कार्यसमितिको अधिकार कहिल्यै पनि संरक्षक परिषद्मा जान नसक्ने भन्दै विभिन्न एनसीसीहरुको भेला डाकेको छ ।

भेला अवैधानिक भएको र रद्द भएको खबर आइरहँदा फेरि संस्थापन पक्षले नयाँ कार्ड बजारमा ल्याएको छ । यस अन्तर्गत अधिवेशनका लागि सहभागी हुन सदस्यहरको लेबी नबुझाएका राष्ट्रिय समन्वय परिषद्हरुलाई विश्व सम्मेलनमा सहभागी हुन नदिने दावी गरिएको छ । अमेरिका, जापान, फिलिपिन्स, बेलारुस, साईप्रस, युके, मोजाम्बि, क्यनडा, कोष्टारिका, अष्ट्रेलियाले सहभागी हुन नपाउने बताइएको छ । तर, यी मुख्य देशहरु जहाँ धेरै भन्दा धेरै सदस्यहरु छन् तिनको सहभागिताविनाको विश्व सम्मेलन र नयाँ नेतृत्व कस्तो हुनेछ ? यो सम्भव होला त ? गम्भीर प्रश्न खडा भएको छ ।

यसैबीच, एनआरएन अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंगले आफुहरुले केन्द्रलाई बुझाउनुपर्ने सदस्यता शुल्क वापतको रकम नबुझाएको बताएका छन् । केविसीखबरसँग कुरा गर्दै उनले विवाद भएका कारण आफुहरुले पैसा नतिरेको बताए ।

उनले भने, “हामीले विगतमा सम्मेलनस्थलमै गएर लेबी बुझाएको पनि देखेकै हौं । अहिले यो प्रतिनिधि छनोटमा बखेडा छ । हामी ठूला एनसीसीहरु मारमा छौं । यता थोरै संख्या भएर साथीभाई छुट्ने माथि चाहीँ हामीलाई नै दबाब दिने दोहोरो मार परेका कारण अहिलेलाई शुल्क नबुझाएको हो । सम्मेलनमा सहभागी हुने निश्चित बन्नेवित्तिकै बुझाइहाल्छौं ।”

अष्ट्रेलियाले हालै सम्पन्न भएको निर्वाचनको नतिजाका बारेमा पनि केन्द्रलाई जानकारी दिएको छैन ।

अष्ट्रेलिया लगायत ओसेनिया क्षेत्रको संयोजन गरिरहेका क्षेत्रीय संयोजक होम पाण्डे एनसीसीको अधिवेशन सकिएर नयाँ कार्यसमिति आइसक्दा पनि विश्व सम्मेलनमा सहभागी हुनका लागि लेबी नबुझाउने कार्य सही नभएको बताउँछन् । “एनआरएनको लेबी तिरेको एनसीसीको पदाधिकारीले होइन, हरेक सदस्यले तिरेको पैसामा यस्तो निर्णय गर्ने अधिकार कसैलाई छैन । पाँच डलर प्रति सदस्य आईसीसीको लागि बुझाउने पैसा नै रोक्नु अनैतिक हो ।”

पाण्डेले जहाँ पनि अत्तो थाप्ने कार्यले कसैलाई हित नगर्ने बताउँदै संगठन चेन अफ कमाण्डमा चल्न नसकेको बताए । उनले यसैका कारण भोलि विश्व सम्मेलनमा सहभागिता नभए यसको जिम्मेवारी एनआरएन अष्ट्रेलियाको यसअघिको नेतृत्व र वर्तमान कार्यसमितिले लिनुपर्ने पनि चेतावनी दिए । उनले भने, “यो कार्य एनआरएन अष्ट्रेलियाका सदस्यहरुमाथिको अपमान हो भन्ने मैले बुझेको छु ।”

यस पटकको सम्मेलन मार्फत अष्ट्रेलियाले उपाध्यक्ष, सचिव लगायतका विभिन्न पदमा दावी गर्दैछ । नेपालमा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी समर्थित एउटा प्यानल चुनावमा खडा छ भने विपक्षी दल एमाले समर्थित अर्को प्यानलले पनि चुनावमा अध्यक्ष सहितका पदहरुमा प्रतिस्पर्धा गर्दैछ । पछिल्लो समय परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछि अधिवेशन स्थगित भएको थियो ।