मेलबर्नमा हट्यो कफ्र्यू र लकडाउन, खोप लगाएको छ ? अब मज्जाले घुम्नुस्

मेलबर्नमा हट्यो कफ्र्यू र लकडाउन, खोप लगाएको छ ? अब मज्जाले घुम्नुस्


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले लगभग तीन महिनादेखि लगाउँदै आएको रात्रीकालिन कफ्र्यू र लकडाउन बिहीबार मध्यरातदेखि हटाएको छ । यससँगै अब मेलबर्नमा पेशा, व्यवसाय गर्नेहरुले आफ्नो काम सुचारु गर्न पाएका छन् भने घर बाहिर निस्किनका लागि यसअघिको पाँच कारण हुनुपर्ने सर्त पनि सकिएको छ । ७० प्रतिशतभन्दा बढी १६ वर्षभन्दा माथिका भिक्टोरियावासीले कोभिड विरुद्धको खोप लगाएको र छिट्टै यो ८० प्रतिशत पुग्ने स्थिति बनेपछि राज्य सरकारले लकडाउन र कफ्र्यू हटाएको हो ।

विश्वमा नै सबैभन्दा बढी लकडाउन गरिएको शहरका रुपमा मेलबर्नले रेकर्ड भने बनाएको छ ।

कोरोनाको फैलावटलाई रोक्न यसअघिको दोश्रो लकडाउन र कफ्र्यूले सहयोग गरेको भएपनि यस पटक भने संक्रमणलाई शून्यमा झार्ने सफलता भने प्राप्त भएको छैन । उल्टो पछिल्ला दिनहरुमा संख्याले २ हजार काटिरहेको छ ।

आम सर्वसाधारणमा लकडाउन र कफ्र्यू खुलेपछि सिटीका पवहरुमा जाने र रमाइलो गर्ने माहोल बनेको छ । आज शुक्रबार भएका कारण यो सप्ताहन्तमा हजारौं मेलबर्नबासीले तीन महिनादेखिको घर बाहिर निस्किन नपाएको धीत मेटाउने भएका छन् । यस्तै आवश्यक सामग्रीहरुको खरिदका लागि पसलमा आफैं उपस्थित भएर किनमेल गर्ने वातावरण पनि जुरेको छ ।

नेपालीहरुले आफ्नो चाड दशैं मनाउन नपाए पनि तिहार भने लकडाउनरहित मनाउन पाउने भएका छन् ।

तपाईंले होटल, रेष्टुरेन्ट लगायतमा काम गर्नका लागि पनि दुबै डोज कोरोना विरुद्धको खोप लगाएको प्रमाण पेश गर्नुपर्छ भने यी ठाउँहरुमा बसेर खान वा तिनमा प्रवेश गर्न पनि दुबै खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । यस्तो प्रमाण दिन नसकेमा त्यहाँ प्रवेश गर्न नदिने अधिकार सम्बन्धित व्यवसायीसँग हुनेछ ।

अब क्वारेन्टीन पनि बस्नु नपर्ने

यसैबीच, भिक्टोरिया राज्य सरकारले २ सय ६३ दिनपछि लकडाउन र कफ्र्यू हटाएपछि अब अन्तर्राष्ट्रिय यात्री र अन्य राज्यका यात्रीहरुका लागि १४ दिने क्वारेन्टीन पनि हटाउने भएको छ । अर्को महिनादेखि भिक्टोरियामा आउने यात्रीहरुले दुबै मात्रा खोप लगाएको हुनुपर्नेछ भने उडान गर्नुअघि कोरोनाको परीक्षण गराएको र नेगेटिभ रहेको प्रमाण पेश गर्नुपर्नेछ । यस्तो गर्न सकेमा भिक्टोरियामा आइपुगेपछि होम क्वारेन्टीन वा होटल क्वारेन्टीनमा बस्नुपर्ने छैन । यस्तो प्रावधान स्वदेश फर्कने अष्ट्रेलियन नागरिक र पीआरधारीहरुमा आगामी नोभेम्बर १ तारिखदेखि लागू गर्ने तयारी छ ।

आजबाट के के गर्न पाइन्छ ?

नयाँ प्रावधान अनुसार अब घर बाहिर जानका लागि कुनै कारण हुनुपर्ने छैन । यसअघि पाँच अत्यावश्यकीय कारण बाहेक घर बाहिर जान प्रतिबन्ध लगाइएको थियो । यस्तै घरमा कसैलाई आउन दिन समेत रोक लगाइएकोमा अब १० जनासम्म अतिथिलाई घरमा बोलाउन पाइने भएको छ ।

पूर्ण रुपमा खोप लगाइसकेका बाबुआमाका बालबालिकाहरुले चाईल्ड केयर जान पाउनेछन् । १५ किलोमिटर दूरीसम्म मात्रै यात्रा गर्न पाइने यसअघिको प्रावधान अन्त्य गरिएको छ भने मेलबर्न र रिजनल भिक्टोरियाबीचको यात्रामा भने अझै रोक लगाइएको छ । यसका लागि पूर्वस्वीकृति लिनुपर्नेछ । यसअघि नै रिजनल भिक्टोरियामा धेरै प्रतिबन्धहरु हटिसकेका छन् ।
“सरकारले अब ठाउँमा प्रतिबन्ध लगाउने होइन, खोप नलगाएका व्यक्तिहरुलाई चाही लकडाउन गर्नेछ ।” प्रिमियर एन्ड्रयूजले भने ।

नयाँ प्रावधान अनुसार अब होटल, रेष्टुरेन्ट र पवहरुमा भित्र २० जना र बाहिर ५० जनासम्म ग्राहकले सेवा लिन सक्नेछन् । तर त्यहाँ जान भने खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।