आज फेरि बढ्यो कोरेनाको संक्रमण, न्यूसाउथवेल्समा ३ सय ७२, भिक्टोरियामा २२ सय ३२

आज फेरि बढ्यो कोरेनाको संक्रमण, न्यूसाउथवेल्समा ३ सय ७२, भिक्टोरियामा २२ सय ३२


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया र न्यूसाउथवेल्स राज्यमा अघिल्लो दिन केही सकारात्मक संकेत देखिएपनि सोमबार फेरि कोरोनाको संक्रमित थपिने क्रम बढेको छ । पछिल्लो तथ्यांकले न्यूसाउथवेल्समा ३ सय ७२ नयाँ संक्रमित फेला परेको देखाएको छ भने भिक्टोरियामा २२ सय ३२ नयाँ कोरोनाका संक्रमित भेटिएका छन् । भिक्टोरियाले आज मध्यरातदेखि लकडाउन र राति लगाइदै आएको कफ्र्यू हटाउने तयारी गरेको छ ।

राज्यमा रहेका १६ वर्षमाथिका ७० प्रतिशत जनसंख्याले खोप लगाइसकेको अवस्थामा यो परिवर्तन गर्न लागिएको हो । एकदिनमै १२ जनाले ज्यान समेत गुमाएका छन् । जसका कारण अहिलेसम्म डेल्टा भेरियन्टको कोभिड १९ कोरोनाको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ सय ८७ पुगेको छ ।

गएको २४ घण्टाको अवधिमा ३७ हजार ८ सय २४ जनाले कोभिड १९ कोरोना विरुद्धको खोप लगाएका छन् भने यस अवधिमा ७९ हजार ५ सय ४४ परीक्षणका नतिजाहरु प्राप्त भएका थिए ।

उता न्यूसाउथवेल्समा गरिएका ८६ हजार २ सय ३५ परीक्षणमध्ये ३ सय ७२ जनालाई कोरोना देखिएको हो । एकजनाको निधन समेत भएको छ । हाल न्यूसाउथवेल्समा ९२ दशमलब ५ प्रतिशतले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । भने ८२ दशमलब ३ प्रतिशतले दुबै डोज लगाएका छन् ।
यसैबीच, न्यूसाउथवेल्समा ५ विद्यालयहरुमा कोभिड १९ कोरोनाको संक्रमित भेटिएपछि बन्द गराइएको छ ।

यहाँका प्रिमियर डोमेनिक पेरेटोले यस्तो अवस्था आइरहने बताए । उनले सजगता अपनाउँदै संक्रमितको उपचार र क्लोज कन्ट्याक्टहरुलाई आईसोलेसनमा बस्न भनिसकिएको जानकारी दिएका छन् । दुबै डोज खोप लगाएकाहरुले अब मात्र ७ दिन सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ । यस्तो बेला छैठौं दिनमा गरिने परीक्षण र त्यसको नतिजाकाआधारमा काममा जान वा थप आईसोलेसनमा बस्ने निर्णय गर्नुपर्नेछ ।