न्यूूसाउथवेल्समा जम्मा २ सय ६५ नयाँ संक्रमित, भिक्टोरिया २ हजारकै हाराहारीमा

न्यूूसाउथवेल्समा जम्मा २ सय ६५ नयाँ संक्रमित, भिक्टोरिया २ हजारकै हाराहारीमा


मेलबर्न, अष्ट्रेलिया ।

जनसंख्याको हिसाबले अष्ट्रेलियाका दुई ठूला राज्यहरु न्यूसाउथवेल्स र भिक्टोरिया लकडाउन हटाउने क्रममा छन् । भिक्टोरियाले आगामी शुक्रबारबाट राज्यमा लगाइदै आएको तीन महिना लामो लकडाउनलाई अन्त्य गर्दैछ भने न्यूसाउथवेल्सले गत सोमबारबाट सुरु गरेको लकडाउन हटाउने क्रमलाई यो साता सोमबार पनि निरन्तरता दिँदै अब कार्यालयबाटै काम गर्न सकिने वातावरण निर्माण गरेको छ ।

यसैबीच, न्यूसाउथवेल्समा कोरोनाको संक्रमित फेला पर्ने क्रम कम हुँदै गएको छ भने खोप लगाउनेको संख्या बढ्दो छ । स्वास्थ्य विभागले दिएको जानकारी अनुसार गएको २४ घण्टामा २ सय ६५ नयाँ कोरोना संक्रमित थपिएका छन् भने यही अवधिमा ५ जनाले यहाँ ज्यान गुमाएका छन् ।

६० हजार २ सय ७३ परीक्षण गरिएकोमा यस्तो नतिजा आएको हो । यससँगै राज्यमा ९२ प्रतिशत १६ वर्षमाथिका व्यक्तिहरुले खोपको पहिलो डोज लगाएका छन् भने ८० दशमलब ३ प्रतिशतले पूर्ण रुपमा खोप लगाएका कारण संक्रमितको संख्या घट्दै गएको हो ।

यता भिक्टोरियामा सप्ताहन्तमा १९ सय ३ नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै सात जनाले कोभिड १९ कोरोनाको संक्रमणकै कारण ज्यान गुमाएका छन् । डेल्टा भेरियन्टको फैलावटसँगै हाल २२ हजार ३ सय २७ संक्रमित संख्या पुगेको छ राज्यमा ३२ हजार ४ सय ५ जनाले कोभिड १९ कोरोना विरुद्धको खोप आईतबार मात्रै लगाएका छन् ।

तुलनात्मक रुपमा अपेक्षा अनुरुप भिक्टोरियामा कोभिड १९ कोरोनाका संक्रमित भेटिने क्रम घट्न सकेको छैन ।