शुक्रबारबाट मेलबर्नमा लकडाउन अन्त्य हुँदै, के के गर्न पाइन्छ ?

शुक्रबारबाट मेलबर्नमा लकडाउन अन्त्य हुँदै, के के गर्न पाइन्छ ?


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यका विभिन्न क्षेत्रमा लगाइएको कडा लकडाउन र कफ्र्यू आदेश आगामी बिहीबार मध्यरातबाट हट्ने भएको छ । आज पत्रकार सम्मेलन गर्दै राज्यका प्रिमियर ड्यानियल एन्ड्रयूजले दिएको जानकारी अनुसार राज्यमा १६ वर्षभन्दा बढी उमेर समूहका कूल जनसंख्याको ७० प्रतिशतले कोभिड १९ विरुद्धको दुबै डोज खोप लगाइसकेका कारण यस्तो निर्णय गरिएको हो ।

नयाँ प्रावधान अनुसार अब घर बाहिर जानका लागि कुनै कारण हुनुपर्ने छैन । यसअघि पाँच अत्यावश्यकीय कारण बाहेक घर बाहिर जान प्रतिबन्ध लगाइएको थियो । यस्तै घरमा कसैलाई आउन दिन समेत रोक लगाइएकोमा अब १० जनासम्म अतिथिलाई घरमा बोलाउन पाइने भएको छ ।

पूर्ण रुपमा खोप लगाइसकेका बाबुआमाका बालबालिकाहरुले चाईल्ड केयर जान पाउनेछन् । १५ किलोमिटर दूरीसम्म मात्रै यात्रा गर्न पाइने यसअघिको प्रावधान अन्त्य गरिएको छ भने मेलबर्न र रिजनल भिक्टोरियाबीचको यात्रामा भने अझै रोक लगाइएको छ । यसका लागि पूर्वस्वीकृति लिनुपर्नेछ । यसअघि नै रिजनल भिक्टोरियामा धेरै प्रतिबन्धहरु हटिसकेका छन् ।
“सरकारले अब ठाउँमा प्रतिबन्ध लगाउने होइन, खोप नलगाएका व्यक्तिहरुलाई चाही लकडाउन गर्नेछ ।” प्रिमियर एन्ड्रयूजले भने ।

नयाँ प्रावधान अनुसार अब होटल, रेष्टुरेन्ट र पवहरुमा भित्र २० जना र बाहिर ५० जनासम्म ग्राहकले सेवा लिन सक्नेछन् । तर त्यहाँ जान भने खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

शनिबार राज्यमा १८ सय ३८ नयाँ कोरोना संक्रमित फेला परेका छन् । भने ७ जनाले ज्यान गुमाएका थिए । नयाँ परिवतित प्रावधान अनुसार मास्क लगाउनु अनिवार्य नै हुनेछ । तर, ८० प्रति खोपको मात्रा पुगेपछि भने यसमा परिवर्तन गरिने भएको छ । उनले ८० प्रतिशत खोपको दर पुगेपछि अन्तरराज्य यात्राको समेत प्रतिबन्धलाई खुला गरिने भएको छ । भिक्टोरियामा मंगलबार भित्र ९० प्रतिशतले पहिलो डोज खोप लगाइसक्ने अनुमान छ ।

यसैबीच भिक्टोरियाको विपक्षी दल लिबरल पार्टीका नेता म्याथ्यू गाईले सरकारले गरेका परिवर्तनहरुको स्वागत गरेका छन् तर अझै धेरै गर्न बाँकी रहेको उनले बताएका छन् । अझै पनि खुद्रा व्यापार व्यवसायमा प्रतिबन्ध लगाउने सरकारको नीतिको उनले कडा आलोचना गरे ।