जपानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा राष्ट्रिय शोक मनाउने निर्णय

जपानका पूर्वप्रधानमन्त्री आबेको निधनमा नेपालमा राष्ट्रिय शोक मनाउने निर्णय


काठमाडौं । नेपाल सरकारले मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा असार २५ गते शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो।

सरकारले आबेको निधनप्रति गहिरो दुःख प्रकटसमेत गरेको छ। आबेलाई गोली प्रहार गरी गरेको हत्या निन्दनीय भएको भन्दै नेपाल सरकारले जापान सरकार, जापानी जनता र आबेको परिवारप्रति समवेदना व्यक्त गरेको छ।

नेपाल सरकारले हत्या निन्दनीय भएको भन्दै भर्त्सना गरेको छ। आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो।

गोली प्रहार गरे लगत्तै जापान प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरीले गोली प्रहार गर्ने ४१ वर्षीय पुरुषलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको बीबीसीले उल्लेख गरेको छ ।

जापानको पश्चिमी शहर नारामा  आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला गोली प्रहार भएको थियो ।

जापानमा साना हतियार प्रतिबन्धित भएकाले कमै मात्रामा गोलीकाण्ड हुने गर्छन् ।  भाषण गर्दागर्दै उहाँमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उहाँ सडकमै ढल्नुभएको थियो । उहाँको शरीरबाट रगत बगेको थियो  उहाँलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।

स्थानीय समयानुसार बिहान साढे ११ बजे उहाँमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उहाँ भाषण  गरिरहनुभएको थियो ।

प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा  लिएर अनुसन्धान जारी राखेको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा रहनुभएको थियो ।