विटक्वाईनको मूल्य पनि उँधोबाटोमा, ६९ हजारबाट घट्दै १८ हजार डलरमा पुग्यो !

विटक्वाईनको मूल्य पनि उँधोबाटोमा, ६९ हजारबाट घट्दै १८ हजार डलरमा पुग्यो !


मेलबर्न, अष्ट्रेलिया ।

केही महिनादेखि क्रिप्टो बजारमा अचम्मका घटना भइरहेका छन् । एक साताभित्रै लुनाको अवसान भएपछि बजारमा आएको तरंग शान्त भइनसक्दै अन्य क्रिप्टो करेन्सीहरुको पनि मूल्य लगातार गिरावट भइरहेको छ । क्रिप्टोमध्ये सबैभन्दा बलियो मानिएको र धेरै देशहरुमा समेत वैधानिकताको बाटोमा लागेको विटक्वाईन समेत यतिबेला लगातार ओरालो लागिरहेको छ । शनिबार मात्रै यो २० हजार अमेरिकी डलरमा पुग्यो । आईतबार यो समाचार तयार पार्दा विटक्वाईनको मूल्य १८ हजार २ सय ५२ कायम भएको छ ।

सन् २०२० को नोभेम्बरमा यही मूल्य हाराहारीमा रहेको विटक्वाईन बढेर ६९ हजार डलरसम्म पुगेको थियो । धेरैजनाले अब २० हजार डलरभन्दा कम हुँदैन भन्ने आंकलन गरेको भएपनि यो अनुमान गलत सावित गर्दै विटक्वाईनको घट्ने क्रम जारी छ । ६९ हजार डलरमा कारोबार भएकोभन्दा ७० प्रतिशतले विटक्वाईनको मूल्यमा गिरावट आइसकेको छ ।

विश्वका ठूला अर्थतन्त्र अमेरिका, बेलायत, अष्ट्रेलिया लगायतका केन्द्रीय बैंकहरुले बजारको मन्दी नियन्त्रण गर्नका लागि व्याजदरमा बृद्धि गरेपछि धेरैले आफ्नो सञ्चित सम्पत्ति या लगानी बेच्न थालेका छन् ।

विटक्वाईन मात्र होइन यसबाहेकका अन्य क्रिप्टोकरेन्सीहरुको मूल्य गिरावटलाई समेत अध्ययन गर्ने हो भने हालसम्म दुई तिहाईभन्दा बढीको गिरावट आइसकेको छ । तीन ट्रिलियन अमेरिकी डलर बराबरको बजार अहिले मात्र १ ट्रिलियनको रहेको विश्लेषकहरु बताउँछन् । क्रिप्टो करेन्सीका एक्सचेन्ज कारोबार गरिहरेका विभिन्न कम्पनीहरुले तत्कालका लागि आफ्ना ग्राहकहरुले रकम निकाल्न नपाउने गरी रोक लगाइसकेका छन् ।

यो अहिलेसम्म सुचारु हुन्छ भन्ने जानकारी समेत दिइएको छैन । धमाधम लगानी झिक्ने क्रमले पूरै बजार नै ध्वस्त बन्ने खतराकाबीच यस्तो निर्णय गरिएको उनीहरुले बताउने गरेका छन् । पछिल्लो क्रिप्टो बजारको स्थितिले मुख्यत युवाहरु जसले करोडौं डलरको लगानी गरेका थिए उनीहरु मारमा परेका छन् । यस्ले कस्तो परिस्थिति निम्त्याउने हो यो भने प्रतिक्षाको विषय छ ।