डार्विनमा दुःखद खबर, एकसाताभित्रै अर्को एक नेपाली युवाको निधन !

डार्विनमा दुःखद खबर, एकसाताभित्रै अर्को एक नेपाली युवाको निधन !


एक साताभित्रै दुई नेपाली युवाको निधन भएपछि डार्विनको नेपाली समूदाय यतिबेला शोकमा छ । गएको ६ अक्टोबरमा सडक दुर्घटनामा परी चितवनका २२ वर्षीय युवा समिर मानन्धरको निधन भएको थियो । डार्विनबाट ४० किलोमिटर पर ग्रामीण नोनाम टेभनस्थित स्ट्राउट राजमार्गमा दुर्घटना भएको थियो ।

मोटरसाईकलमा सवार मानन्धरलाई तिव्र गतिमा गुडाएको कारले ठक्कर दिएको थियो । कार चालक ७८ वर्षीय व्यक्तिको परीक्षण गर्दा कुनै मादक पदार्थ सेवन गरेको भने नपाइएको प्रहरीले जनाएको थियो । यस सम्बन्धमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

सिड्नी हुँदै नेपाल शव पठाइँदै

यसैबीच, समिरको शवलाई सोमबार डार्विनबाट सिड्नी हुँदै नेपाल पठाउने तयारी भएको छ । एनआरएन अष्ट्रेलिया नर्दन टेरेटोरी र नेप्लीज एशोसिएसन अफ नर्दन टेरेटोरी नान्टले संयुक्त रुपमा सहयोग संकलन गरेकोमा ५० हजार डलरभन्दा बढी सहयोग जुटेको छ । उनको शव नेपाल पठाउन करिब १५ हजार खर्च लाग्ने र बाँकी रकम परिवारको सल्लाहमा हस्तान्तरण गर्ने तयारी भएको बुझिएको छ ।

शव झुण्डिएको अवस्थामा फेला

समिरको दुर्घटनामा निधन भएको खबरले मर्माहत नेपाली समूदाय अर्को एक नेपाली युवाको झुण्डिएको अवस्थामा शव भेटिएपछि थप मर्माहत बनेको छ । विवाहित युवकको शव फेला परेको र प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान अघि बढाएको छ ।