युक्रेनको मरिपोलमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेका रुसको दाबी

युक्रेनको मरिपोलमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेका रुसको दाबी


काठमाडौं, ३० चैत । युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ ।
सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएको र त्यसको अर्थ मारिपोल अझै पराजित नभएको दाबी गरेका बीबीसीले जनाएको छ ।
दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निसानामा रहेको थियो । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको त्यो बन्दरगाह सहरमा अझै एक लाख जति निःशस्त्र मानिस रहेका छन् । मारिपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले त्यहाँ कब्जा गर्न रुसले आफ्नो शक्ति केन्द्रित गरेको छ । युक्रेनका लागि मारिपोलको पराजयबाट ठूलो चोट पर्नेछ ।