पाकिस्तानी प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित, इमरानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा

पाकिस्तानी प्रधानमन्त्रीमा शेहबाज सरिफ निर्वाचित, इमरानको पार्टीका सांसदले दिए सामूहिक राजीनामा


काठमाडौं, २९ चैत । पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा पाकिस्तान मुस्लिम लिग(नवाज) का अध्यक्ष शेहबाज सरिफ निर्वाचित भएका छन् । सोमबार पाकिस्तानी संसद्(नेसनल एसेम्बली) मा १७४ जनाले शेहबाजका पक्षमा भोट दिएका हुन् । पाकिस्तानी प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसद्लाई सम्बोधन गर्दै शेहबाज सरिफ, साथमा पीपीपीका नेता बिलाबल भुट्टो ।
पाकिस्तान पिपल्स पार्टी(पीपीपी) को समेत समर्थनमा शेहबाज पाकिस्तानका २३औं प्रधानमन्त्री बनेका छन् । पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तेहरीक–ए–इन्साफ(पीटीआई) ले भने संसद् बहिष्कार गरेको छ। त्यस्तै पीटीआईका सांसदले सामूहिक राजीनामासमेत दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका पीटीआई अध्यक्ष इमरान खानको अध्यक्षतामा सोमबार बसेको संसदीय दलको बैठकले ’आयातित सरकार’ को विरोधमा राजीनामा दिने निर्णय गरेको हो ।
खानविरुद्ध विपक्षीले राखेको प्रस्ताव पारित भएसँगै आइतबारदेखि नै उनी प्रधानमन्त्रीबाट पदमुक्त भइसकेका थिए । पाकिस्तानको संसद् (राष्ट्रिय सभा) आइतबार मध्यरातमा भएको मतदानमा १७४ सांसद उनको विपक्षमा उभिए । ३४२ सदस्यीय पाकिस्तानी संसद्मा भएको मतदानमार्फत आफ्नो पद जोगाउन खानले कम्तीमा १७२ सांसदको समर्थन आवश्यक पर्थ्यो । नयाँ प्रधानमन्त्री शेहबाजले सन् २०२३ को अक्टोबरमा अर्को चुनाव नहुन्जेलसम्म सत्ता सम्हाल्नेछन् । शेहबाज पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् ।
सत्ताबाट इमरान खानको बहिर्गमनसँगै पाकिस्तानभर पीटीआईका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् ।