श्रीलङ्कामा नयाँ मन्त्रिमण्डल गठन, ४ मन्त्रीले लिए शपथ

श्रीलङ्कामा नयाँ मन्त्रिमण्डल गठन, ४ मन्त्रीले लिए शपथ


काठमाडौं, २१ चैत । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गर्नुभएको छ । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।
देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिनुभएको छ भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिनुभएको छ ।
अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।
श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौँ लामो लोडशेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।
श्रीलङ्काका नयाँ मन्त्रीहरूले आर्थिक अस्थिरता र दक्षिण एसियाली देशमा इन्धनको गम्भीर अभावबीच बढ्दो विरोधको आह्वानको जवाफमा हिजो आइतवार राति आफ्नो पदबाट राजीनामा दिने प्रस्ताव गरेका थिए । सोमबार राष्ट्रपति राजपाक्षले जारी सङ्कटको समाधान खोज्न सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ ।