सोमबारदेखि न्यूसाउथवेल्सवासीले घरमै १० जना पाहुना बोलाउन सक्ने !

सोमबारदेखि न्यूसाउथवेल्सवासीले घरमै १० जना पाहुना बोलाउन सक्ने !


सिड्नी, अष्ट्रेलिया ।

अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यले कोभिड १९ कोरोना विरुद्धको खोप लगाएका वयष्क नागरिकहरुको संख्या ८० प्रतिशत बनाउने लक्ष्य छ । यसअघि सोमबारदेखि राज्यमा लगाइदै आएका प्रतिबन्धहरुलाई खुकुलो बनाउने जनाएको हो ।

प्रिमियर नियुक्त हुनुअघि बनाइएको रोडम्यापमा थप परिमार्जन गर्दै नवनियुक्त प्रिमियर डोमेनिक पेरोटेले सार्वजनिक गरेको नयाँ योजनामा सोमबारदेखि न्यूसाउथवेल्सवासीले आफ्नो घरमा १० जनासम्म आगन्तुकलाई स्वागत गर्न सक्नेछन् । यसमा १२ वर्षभन्दा कम उमेरका बालबालिका जोडिएको छैन । यसअघि यो संख्या पाँच मात्र थियो । यस्तै घर बाहिर ३० जनासम्म भेला हुन सक्नेछन् । यसअघि यो संख्या २० तोकिएको थियो । यस्तै विवाह समारोहमा १ सय जनासम्म सहभागी हुनसक्ने गरी प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यसअघि यो संख्या जम्मा ५० थियो ।

१६ वर्षभन्दा माथि उमेरका ८० प्रतिशत राज्यवासीहरुले खोप लगाइसकेको अवस्थामा खोप लगाउनेहरुले सार्वजनिक स्थल र कार्यक्षेत्रमा मास्क लगाउन अनिवार्य हुने छैन । यस्तै घरमा २० जनासम्मलाई स्वागत गर्न सक्नेछन् भने सार्वजनिक स्थलमा ५० जनासम्म भेला हुन पाउनेछन् । यो अवधिपछि नाईट क्लबहरु समेत खुल्नेछन् तर त्यहाँ नाच्न भने पाइने छैन ।

अक्टोबर २५ तारिखदेखि सबै विद्यालयहरु खुलिसक्नेछन् भने किन्डरगार्टेन, कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरुले अक्टोबर १८ देखि विद्यालय जान पाउनेछन् । यसअघि नोभेम्बर १ तारिखमा मात्रै सबै विद्यार्थीले प्रत्यक्ष विद्यालय जान पाउने गरी नियम ल्याइएको थियो ।