श्रीलङ्कामा ३६ घण्टे कर्फ्यु आदेश

श्रीलङ्कामा ३६ घण्टे कर्फ्यु आदेश


काठमाडौं, १९ चैत । श्रीलङ्कामा आर्थिक सङ्कटकाबीच कर्फ्यु आदेश जारी भएको छ । श्रीलङ्का सरकारले आज शनिवार बेलुका ६ बजेदेखि पर्सि सोमवार बिहान ६ बजेसम्म अर्थात् ३६ घण्टे लामो कर्फ्यु आदेश जारी गरेको बीबीसीले जनाएको छ ।
खाना, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि त्यहाँका नागरिकले सरकारविरुद्ध प्रदर्शन चर्काउँदै आएका छन् । प्रदर्शन नियन्त्रणका लागि हिजो शुक्रवार राति सङ्कटकाल घोषणा गरेकोमा आन्दोलन झनै बढ्दै गएपछि कफ्र्यु आदेश जारी गरिएको हो । अहिले सहरहरूमा सेना परिचालन गरिएको छ । सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीलङ्का अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलङ्कामा कम्तीमा १२ घण्टा बिजुली कटौती भइरहेको छ । यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ ।
दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीको सामना गरिरहेको छ ।