यस्तो छ भिक्टोरिया राज्यले बनाएको अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना !

यस्तो छ भिक्टोरिया राज्यले बनाएको अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना !


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको भिक्टोरिया राज्यले यहाँका विभिन्न कलेज र युनिभर्सिटीहरुका ४७ हजार अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउने योजना सार्वजनिक गरेको छ । यी विद्यार्थीहरु महामारीका कारण अष्ट्रेलिया आउन लगाइएको रोकले गर्दा आफ्नै देशमा अड्किएका छन् । भिक्टोरियाले अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना सार्वजनिक गरेपनि त्यो उत्साहजनक भने छैन ।

किनकि, सातामा १ सय २० जना विद्यार्थीलाई मात्रै यहाँ प्रवेश दिइनेछ । सुरुवातमा प्राक्टिकल बाँकी भएका वा आफ्नो पढाई सम्पन्न गर्ने तहमा पुगेका विद्यार्थीहरुलाई आउन दिने योजना छ । त्यसपछि विस्तारै स्वास्थ्य क्षेत्रको पढाई गर्दै गरेका विद्यार्थी र पोष्टग्राजुयट र रिसर्चका विद्यार्थी प्राथमिकतामा पर्नेछन् ।

यस वर्षको अन्त्यसम्ममा सुरु गर्ने लक्ष्य राखिएको योजनामा हाल राज्यले पाइआएको अन्तर्राष्ट्रिय आगमनको साप्ताहिक कोटा समावेश छैन ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई ल्याउनका लागि आवश्यक पर्ने बजेटसहितको प्रस्ताव राज्य सरकारले संघीय सरकार समक्ष प्रस्तुत गरिसकेको छ । भिक्टोरियाका व्यापारमन्त्री मार्टिन पकुलाले अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजनाले स्वदेश फर्कन लागेका अष्ट्रेलियनहरुको यात्रामा कुनै प्रभाव नपर्ने स्पष्टीकरण दिए ।

पहिलो चरणको अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउने योजना पश्चात दोश्रो चरणमा यहाँका विभिन्न टेफ कलेजहरमा, भाषा पढ्नका लागि भर्ना भएकाहरु र निजी शिक्षा तथा माध्यामिक तहको विद्यालयका विद्यार्थीहरुले पनि आउन पाउनेछन् ।