होबार्टको होटल ग्रान्ड चान्सलरमा शनिबार दशैं धमाका !

होबार्टको होटल ग्रान्ड चान्सलरमा शनिबार दशैं धमाका !


होबार्ट, तास्मानिया ।

होबार्टमा आगामी शनिबार दशैं धमाका म्युजिकल नाईट हुने भएको छ । विनर सर्कल–तास्मानियाको आयोजनामा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको व्यवस्थापन पक्षले जनाएको छ । स्थानीय होटल चान्सलरमा गर्न लागिएको दशैं धमाकामा गायक बादल प्रसाई, होबर्टको ब्याण्ड ‘अर्थ’, डि.जे. अरूल्ला सहित विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन् ।

“कोरोना भाईरसको कारणले अष्ट्रेलियाका विभिन्न राज्यहरुमा लकडाउनको अवस्था रहेपनि होबार्टको दशैं भने यस पटक संगीतमय बन्ने अपेक्षा हाम्रो छ । यहाँ स्थिति सामान्य छ र हामी सबै दशैंलाई स्वागत गर्न उत्साहित छौं”, कार्यक्रमको प्रमख प्रायोजक ग्लोबल मार्कका अरुण चित्रकारले केविसीसँग भने ।

विनर सर्कलका साजन परियारले ‘नेपाल र नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै महान चाड दशैँ मनाउन कार्यक्रम गरिएको बताए । उनले भने, “अहिले चाडवाडको मौसम हो । हामी नेपालमा भए परिवारसँग बसेर चाडवाड मनाउने थियौं । अष्ट्रेलियामा आइसकेपछि हामी सबै नेपाली एउटै परिवार हौं । यही सोच राखेर हामीले नाच्दै गाउँदै, नेपाली परिकारहरुमा रमाउँदै दशैं मनाउने वातवारण मिलाएका हौं ।”

परियारले कोरोनाका मापदण्ड अवलम्बन गर्दै यो कार्यक्रम सञ्जालन गरिने बताए । युवाहरूका लागि काम गरिरहेको विनर सर्कलको तास्मानियामा यो नै पहिलो कार्यक्रम हो ।

कार्यक्रम शनिबार ९ तारिख साँझ ५ बजेबाट सुरु हुनेछ ।