प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले युवा दस्ता बनाउँदै, महेश बस्नेत अतिथि

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले युवा दस्ता बनाउँदै, महेश बस्नेत अतिथि


सिड्नी, अष्ट्रेलिया ।

नेपालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको विचारसँग नजिक रहेका प्रवासी नेपालीहरुको संस्था प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले आफ्नो युवा मञ्च यो आईतबार १० अक्टोबरमा थालनी गर्ने भएको छ । अष्ट्रेलियामा रहेका नेपालीभाषी युवाहरुलाई समेट्नका लागि मञ्चले युवदस्ताको अवधारणा ल्याएको हो ।

संस्थाका अध्यक्ष रमेश पाण्डेले केविसीखबरसँग कुरा गर्दै आईतबार प्रवासी नेपाली युवा मञ्चको राष्ट्रिय कमिटी घोषणा गर्ने जानकारी दिएका छन् ।

पाण्डेले कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्वमन्त्री एवं नेकपा एमालेका युवा नेता महेश बस्नेत सहभागी हुनेछन् । जुममार्फत गर्न लागिएको कार्यक्रम आईतबार साँझ ५ बजे हुने र बस्नेतसँगै विशेष अतिथिको रुपमा राष्ट्रिय युवासंघ नेपालका अध्यक्ष किरण पौडेल पनि सहभागी हुने जानकारी पाण्डेले दिए ।

अष्ट्रेलियामा रहेका नेपालीहरु अधिकांश विद्यार्थीका रुपमा युवा अवस्थामै यता आउने भएका कारणले यस किसिमका युवा समेट्ने संस्था खोल्ने क्रम पनि पछिल्लो समयमा बढेको छ ।

विभिन्न राजनीतिक दलका प्रवासी शुभेच्छुक संगठनहरुले युवा विद्यार्थीहरुलाई समेट्नका लागि यहाँ गैरराजनीतिक संस्था खोल्ने गरेका छन् ।