‘कम्युनिटी क्रिकेट इनिसिएटिभ अफ द इयर अवार्ड’बाट टिएनसीए सम्मानित, अध्यक्ष भण्डारीलाई पनि अवार्ड 

‘कम्युनिटी क्रिकेट इनिसिएटिभ अफ द इयर अवार्ड’बाट टिएनसीए सम्मानित, अध्यक्ष भण्डारीलाई पनि अवार्ड 


मेलबर्न अष्ट्रेलिया ।

क्रिकेट तास्मानियाले प्रदान गर्ने कम्युनिटी क्रिकेट इनिसिएटिभ अफ द इयरको अवार्ड तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए) ले पाएको छ। तस्मानियाको सामुदायिक स्तरमा क्रिकेट खेलको माध्यामबाट उत्कृष्ट योगदान गर्नेहरुलाई क्रिकेट तास्मानियाले हरेक वर्ष विभिन्न अवार्डबाट सम्मानित गर्दछ। विगत झैँ यस वर्ष पनि क्रिकेट तास्मानियाले विभिन्न ८ विधामा उत्कृष्टको नाम सार्वजनिक गरेको छ। 

कम्युनिटी क्रिकेट इनिसिएटिभ अफ द इयर को २०२३–२४ को अवार्ड टिएनसिएलाई दिने निर्णय भएको क्रिकेट तस्मानियाका महाप्रबन्धक एलेक्स किङले जानकारी दिए। 

उनले टिएनसीएले सबै उमेर समूहलाई प्रतिनिधित्व हुने गरी उलवर्थ ब्लास्ट, क्रिकेट फर अल एबिलिटी र महिला क्रिकेट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकाले कम्युनिटी क्रिकेट इनिसिएटिभ अफ द इयर अवार्डबाट सम्मान गरिएको बताए। 

टिएनसीएले समावेशीता तथा व्यक्तिगत प्रतिबद्धता मार्फत गुणस्तरीय अनुभवहरू प्रदान गर्ने र धेरै सहभागीहरूको संख्या सुनिश्चित गरेकोका क्रिकेट तास्मानियाले गौरव महसूस गरेको उनले बताए। टिएनसीएले विविध पृष्ठभूमिका मानिसहरूलाई क्रिकेटमा सहभागी हुने अवसरहरू उपलब्ध गराएर नेपाली समुदायलाई एकताबद्ध र सशक्त बनाउन खेलकुदको शक्तिको ज्वलन्त उदाहरणको रूपमा कार्य गरेकोले उक्त अवार्डबाट सम्मानित गरिएको उनको भनाइ छ। 

यस्तै भोलेन्टर अफ द इयरको अवार्डबाट टिएनसीएका अध्यक्ष कमल भण्डारी सम्मानित भएका छन् । क्रिकेट क्षेत्रको अनुभवबाट समुदायमा एकताको भावनालाई बलियो बनाउन महत्वपुर्ण भुमिका खेललेकाले भण्डारीलाई उक्त अवार्ड दिइएको तास्मिानिया क्रिकेटका महाप्रबन्धक किङले बताएका छन्। भण्डारीले गर्ने सबै काममा दृष्टि, उत्साह र मानिसहरूलाई एकसाथ ल्याउने क्षमता देखाएको भन्दै महाप्रबन्धक किले उनको प्रशंसा गरेका छन्। भण्डारीले नेतृत्व गरेको टिएनसीएले अक्टोबरमा सुपर सिक्स क्रिकेट प्रतियोगिता, उलर्थ ब्लास्ट सेन्टर, महिला क्रिकेट र सबै क्षमताका लागि क्रिकेट कार्यक्रम ल्याएको छ। 

अध्यक्ष भण्डारीले भोलिन्टिर अफ द इयरको अवार्डबाट सम्मानित हुन पाउँदा निकै नै खुसी लागेको बताए। केविसीखबरसँग कुरा गर्दै उनले यो अवार्ड पाएसँग तास्मानियाको नेपाली समूदायमा क्रिकेटको वृत्ति विकासमा थप जिम्मेवार बनाएको बताए। उनले भने, मैले अवार्ड पाउँदा यो मेरो प्रतिनिधित्वमा हो। जति पनि तास्मानियामा भोलेन्टियर हुनुहुन्छ उहाँहरू सबै जना यो अवार्डको भागिदार हुनुहुन्छ। मैँले पाएको यो अवार्ड उहाँ सबैजनालाई अर्पण गर्न चाहन्छु। अध्यक्ष भण्डारी अवार्ड अष्ट्रेलियाले प्रदान गर्ने योङ एचिभर्स अवार्ड २०२४ को पनि सेमिफाइनलमा पुगेका थिए।

टिएनसीए २०१९ मा तास्मानियामा रहेका नेपालीहरूले स्थापना गरेको संस्था हो। यसले तास्मानियामा रहेका नेपाली क्रिकेट क्लब र क्रिकेट खेलाडीको वृत्ति विकासको लागि विभिन्न कार्य गर्दै आएको छ।