चीनमा विमान दुर्घटना–बोइङ ७३७ मोडलका विमान ‘ग्राउन्डेड’

चीनमा विमान दुर्घटना–बोइङ ७३७ मोडलका विमान ‘ग्राउन्डेड’


काठमाडौं, ७ चैत । चीनमा एक सय ३२ जना यात्रु बोकेको हवाईजहाज दुर्घटनामा परेको छ । चाइना इस्टर्न एअरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा दुर्घटनाग्रस्त भएको हो ।
अहिलेसम्म दुर्घटनाको कारण र ज्यान गुमाउनेको सङ्ख्याबारे खुल्न सकेको छैन । उद्धारकर्ताहरूले बाँचेको कुनै सङ्केत नदेखिएको बताएका बीबीसीले जनाएको छ । युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाज जमिनमा खसेपछि आगो लागेको देखिएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । दुर्घटनापछि चीनका राष्ट्रपति सी जिनपिङले कारण पत्ता लगाउन तत्काल अनुसन्धान गर्न आदेश दिनुभएको छ ।
यो घटनासँगै चाइना इस्टर्न एअरलाइन्सले आफ्ना ७३७ का सबै जहाज ग्राउन्ड गरेको छ । चीनमा सन् २०१० पछि ठूलो हवाई दुर्घटना भएको बीबीसीले जनाएको छ ।