रुस–युक्रेन वार्ता सकारात्मक !

रुस–युक्रेन वार्ता सकारात्मक !


काठमाडौं, २७ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी र युक्रेनी अधिकारीहरूबीच चलिरहेको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभएको छ । बेलारुसका नेता अलेक्जेन्डर लुकासेन्कोसँग आज मस्कोमा भएको भेटमा पुटिनले आफ्नोतर्फका वार्ताकारहरूको अनुसार वार्तामा सकारात्मक परिवर्तनहरू देखिएका बताउनुभएको बीबीसीले जनाएको छ ।
युक्रेन र बेलारुस सीमामा दुई पक्षका टोलीबिच तीन चरणमा वार्ता भएका हुन् । हिजो बिहीवार युक्रेन र रुसका विदेशमन्त्रीहरू टर्कीमा भेटेका थिए । तर अहिलेसम्म ती वार्ताबाट कुनै नतिजा देखिएको छैन ।
पुटिनले रुसविरुद्ध लगाइएका प्रतिबन्धहरूले आफ्नो देशमा सकारात्मक प्रभाव पार्ने दाबीसमेत गर्नुभएको बीबीसीले जनाएको छ । रुसले युक्रेनका थप तीन वटा सहरमा आक्रमण सुरु गरेको र राजधानी किएभलाई रुसी सेनाले नजिकैबाट घेरेको बीबीसीले जनाएको छ ।
यसैबीच रुस–युक्रेन युद्ध सुरु भएपछि युक्रेनबाट विस्थापित हुनेको सङ्ख्या २५ लाख नाघेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । विस्थापित हुनेमध्ये एक लाख १६ हजार विदेशी नागरिक रहेका र झन्डै थप २० लाख मानिस युक्रेनभित्रै विस्थापित भएका बीबीसीले जनाएको छ ।