सर्वसाधारणको उद्धारका लागि रुसले दिन प्रस्ताव गरेको बाटो युक्रेनले ग-यो अस्वीकार

सर्वसाधारणको उद्धारका लागि रुसले दिन प्रस्ताव गरेको बाटो युक्रेनले ग-यो अस्वीकार


काठमाडौं, २३ फागुन । सर्वसाधारणको उद्धारका लागि रुसले प्रस्ताव गरेको करिडोर युक्रेनले अस्वीकार गरेको छ । रुसले राजधानी किएभ सहित चार वटा सहरमा अस्थायी युद्धविराम घोषणा गर्दै सर्वसाधारणको उद्धारको लागि ६ वटा करिडोर प्रस्ताव गरेको छ । तर प्रस्ताव गरिएका करिडोरमध्ये चार वटा करिडोर रुस वा बेलारुस जान मात्र प्रयोग गर्न सकिने भन्दै युक्रेनले अस्वीकार गरेको हो ।
युद्धमा बेलारुसले रुसलाई सहयोग गरिरहेको छ । युक्रेनका उपप्रधानमन्त्री इर्यीना भेरेश्चुकले आफ्ना नागरिकलाई जानाजान बेलारुस वा रुस पठाउन नसक्ने बताउनुभएको बीबीसीले जनाएको छ । आक्रमण गरिरहेकै देशमा शरणार्थी पठाउने प्रस्ताव अनैतिक रहेको युक्रेनले बताएको छ । युक्रेनले सर्वसाधारणलाई रुसबाट टाढा पश्चिमी युक्रेनतिर जान बाटो खोलिदिनुपर्ने माग गरेको छ ।
यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलिदमिर जेलेन्स्कीसँग सोझै कुरा गर्न रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गर्नुभएको छ । दुई नेताबीच भएको टेलिफोन वार्तामा मोदीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीसँग सिधै वार्ता गरेर समस्याको निकास खोज्न अनुरोध गर्नुभएको रोयटर्सले जनाएको छ ।
रुसले युक्रेनमा जमिन, आकाश र समुद्र सबै मार्गबाट आक्रमण सुरु गरेको छ । रुसी फौजले राजधानी किएभमा ठूलो आक्रमणको चेतावनी दिएको समाचार संस्था एएफपीले जनाएको छ ।