३८ जना दोषीलाई मृत्युदण्डको फैसला

३८ जना दोषीलाई मृत्युदण्डको फैसला


काठमाडौं, ५ फागुन । भारतको एक अदालतले गुजरात राज्यको अहमदाबादमा सन् २००८ मा भएका शृंखलाबद्ध बम विस्फोटका ३८ जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
विस्फोट गराएको आरोपमा झण्डै ८० जना आरोपितमाथि मुद्दा चलाइएकोमा ३८ जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००८ को २६ जुलाईमा भएका विस्फोटमा ५६ जनाको ज्यान गएको थियो । ७० मिनेटको फरकमा भएका २१ ओटा विस्फोटका घटनामा २ सय जना भन्दा धेरै घाइते भएका थिए । घटनामा संलग्न रहेको अभियोगमा विशेष अदालतका न्यायाधीश एआर पटेलले अन्य ११ जना दोषीलाई आजीवन कारावासको सजाय सुनाउनुभएको छ ।
यही ८ फेब्रुअरीमा गुजरातको एक अदालतले घटनामा ४९ जनालाई दोषी ठहर गर्दै २८ जनलाई सफाइ दिएको थियो ।