लता मंगेशकर : स्वरको दुनियाँमा अमर एउटा नाम

लता मंगेशकर : स्वरको दुनियाँमा अमर एउटा नाम

९२ वर्षको उमेरमा लता मंगेशकरको निधन


भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा सरस्वति पूजाको दिन आइतबार बिहान निधन भयो ।

पछिल्लो समय कोरोना भाईरसका कारण निधन हुने प्रसिद्ध व्यक्तिहरुको सूचिमा लता सबैभन्दा माथि रहिन् । लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि उनको स्वास्थ्यमा सुधार आएको भनिएपनि खतरा टरेका थिएन ।

विश्वभरका उनका लाखौं फ्यानले उनको स्वास्थ्यमा सुधार आओस् भन्दै कामना गरे होलान् तर, उनी अस्पतालबाट फिर्ता भइनन् । यतिबेला विभिन्न देशका राष्ट्रप्रमुखहरु, सरकारप्रमुखहरुले मात्र होइन सर्वसाधारण सबैले उनको निधनमा शोक व्यक्त गरेका सन्देशहरुले सामाजिक सञ्जाल भरिएको छ । लता दुई वर्षसम्म घरबाट बाहिर निस्किएकी थिइनन् । उनको घरमा काम गर्ने एकजनालाई कोरोना देखिएको र त्यसबाट नै उनमा पनि संक्रमण भएको आशंका गरिन्छ ।
भारत सरकारले पनि लता मंगेशकरको निधनमा दुई दिन राष्ट्रिय शोक घोषणा गरी उनलाई सम्मान दिएको छ । भारतमा र विदेशमा रहेका भारतीय नियोगहरुमा झण्डा दुई दिन आधा झुकाइने भएको छ । अहिले केहीबेरमा लताको शवलाई राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा अन्त्येष्टि गरिनेछ ।

हजारौं गीतमा उनको अमर स्वर

लताले ३६ भाषाका ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले एक हजारभन्दा बढी चलचित्रमा गीत गाएकी छन् । सन् १९६० देखि सन् २००० को कालखण्डमा निर्माण भएका अधिकांश चलचित्रमा लताको स्वर समावेश हुन्थ्यो । जुनसुकै मुडको गीतमा पनि उनको स्वर फरक किसिमले मिल्न जान्थ्यो । यसैकारण उनको स्वर विनाका चलचित्रका गीत अपूरो हुन्थे ।

उनले सन् २०१५ मा रिलिज भएको ‘डुन्नो वाय’मा अन्तिम गीत गाएकी थिइन् । लता मंगेशकर ८० वर्षसम्म गीतसंगीतमा सक्रिय रुपमा लागेकी थिइन् । सन् १९२९ सेप्टेम्बर २९ तारिखमा मध्यप्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ सालबाटै गीत गाउन थालेकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

लताको सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ प्रदान गरिएको थियो । उनी ‘पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के’लगायतबाट सम्मानित भएकी थिइन् । लतालाई ६१ वर्षको उमेरमा चलचित्र ‘लेकिन’बाट ‘राष्ट्रिय अवार्ड’ समेत मिलेको थियो ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ । भारतका प्रधानमन्त्री, रक्षा मन्त्रीसँगै विभिन्न दलका नेता, बलिउडकर्मी, संगीतकर्मी र उनका शुभचिन्तकले उनलाई श्रद्धाञ्जली दिएका छन् ।

किशोर कुमारसँगको रोचक किस्सा

भारतीय संगीत क्षेत्रका दुई महान गायकमा गनिन्छन् लता मंगेशकर र किशोर कुमार। जबसम्म बलिउड रहला तबसम्म यी दुई नाम सायदै कसैले बिर्सिन सक्ला।

आज यी दुवै यो संसारमा छैनन्। लता मंगशेकरको आजै बिहान मात्र निधन भयो। किशोर कुमारको भने सन् १९८७ मै निधन भएको हो। यी दुई गायक यो संसारमा नभए पनि उनीहरूको आवाज धेरै शताब्दीसम्म गुन्जिरहनेमा शंका छैन।

यिनीहरूले एकअर्कासँग पनि कयौं गीत गाएका छन्। उनीहरूको युगल स्वरले धेरैलाई मन्त्रमुग्ध बनाएको छ। यी यस्ता गायक जोडी हुन् जसलाई भारतका मात्र होइन, संसारका कयौं देशका संगीतप्रेमीले मनमा बसाएका छन्।

यी दुई गायकको भेट कसरी भएको थियो तरु पहिलोपटक उनीहरूले कहिले देखे एकअर्कालाईरु

लता मंगेशकरले केही वर्षअघि बिबिसीसँगको अन्तर्वार्तामा किशोर कुमारसँगको भेटको रोचक किस्सा सुनाएकी थिइन्।

यो सन् चालीस दशकको कुरा हो।

लताले बलिउडमा भर्खरै गीत गाउन सुरू गरेकी थिइन्। त्यति बेला उनी आफ्नो घर ग्रान्ड रोडबाट लोकल रेल चढेर मलाड जान्थिन्। अनि त्यहाँबाट पैदल हिँडेर स्टुडियोसम्म पुग्थिन्।

मलाडअगावै, बम्बई सेन्ट्रलमा एक युवक पनि त्यो रेलमा चढ्थे। लता जुन स्टेसनमा झर्थिन्, ती युवक त्यहीँ झर्थे। अनि लता स्टेसनबाट स्टुडियोसम्म कहिले टाँगामा त कहिले पैदल जान्थिन्। ती युवा पनि अधिकांशजसो उनको पछिपछि हुन्थे। कहिले टाँगामा कहिले पैदल।

लताको ती युवकसँग सधैंजसो भेट हुन्थ्यो। तर न लता ती युवकलाई चिन्थिन्, न ती युवक लतालाई चिन्थे।

तर हरेक दिन एउटै सफरमा भेट्दाभेट्दा दुवै एकअर्काका निम्ति परिचित हुन थालेका थिए। उनीहरूलाई एकअर्काको नाम थाहा थिएन तर भिडमा जब एकअर्काको अनुहार देख्थे, उनीहरू मुस्कुराउँथे। लाग्थ्यो उनीहरू लामो समयदेखिका परिचित हुन्।

अनुहार हेरेर मुस्कुराउने कुरामा ती युवक नै अगाडि हुन्थे। उनी कहिले लतालाई देखेर दाँत देखाउँदै हाँस्थे, कहिले मुस्काउँथे मात्र त कहिले हातमा भएको एउटा लाठी फुरफुर घुमाउँथे। लतालाई ती युवक देखेर कहिलेकाहीँ अचम्म लाग्थ्यो।

लता त्यति बेला संगीतकार खेमचन्द प्रकाशका निम्ति गीत गाउँदै थिइन्। त्यही गीत रेकर्डिङका लागि उनी स्टुडियो जान्थिन्।

त्यही क्रममा एक दिन ती युवक लतालाई पछ्याउँदै स्टुडियोसम्मै पुगे। लता हड्बडाइन्। उनी हतार हतार पाइला अगाडि बढाउँदै स्टुडियोमा छिरिन्।

दुगुर्दै उनी खेमचन्द प्रकाशका अगाडि पुगिन् र भनिन्, ‘एक जना केटो बाटोबाट मलाई पछ्याउँदै यहाँसम्म आइपुग्यो। तपाईं त्यसलाई हप्काएर पठाइदिनू न।’

लताले यति भनेपछि खेमचन्दले ढोकातिर हेरे। त्यहाँ ती युवक उभिएका थिए।

हँसिला ती युवकलाई देखेर खेमचन्द आफैं मुर्छा पर्ने गरी हाँसे। अनि भने, ‘अरे लता तिमी यिनलाई चिन्दैनौरु यिनै त हुन् अशोक कुमारका भाइ जोसँग तिमी आज गीत गाउँदैछौ।’

लताको अनुहार लाजले रातो भयो। आफूले लामो समयदेखि बाटोमा देखिरहने, आज आफूलाई पछ्याउँदै स्टुडियोसम्म आइपुग्यो भन्ने सोचेका ती युवक थिए गायक किशोर कुमार।

यो कथा अन्तर्वार्तामा सुनाउँदै लताले भनेकी थिइन्, ‘त्यही दिन हो मलाई खेमचन्दले किशोर दासँग भेटाउनु भएको। त्यो दिन हामीले सँगै गीत गायौं र रेकर्ड गरायौं। त्यसपछि त सँगै कति गायौं भन्ने यादै भएन।’

लता र किशोरले गाएका सुपरहिट गीतमा ुतेरे बिना जीन्दगी सेु, ुगाता रहे मेरा दिलु, ‘भिगी भिगी रातोंमे’, ‘देखा एक ख्वाब तो ये सिलसिले हुए’, ‘तेरे मेरे मिलनकी ये रैना’, ‘आपकी आँखोमे कुछ मेहेके हुए से ख्वाब है’, ‘कोरा कागज था ये मेरा’, ‘पन्नाकी तमन्ना है की हिरा मुझे मिलजाए’, ‘हम दोनो दो प्रेमी दुनियाँ छोड चले’ लगायत हुन्।

यी दुई गायकको जोडीले जस्ता गीत गाए, सायदै बलिउडमा इतिहासमा यति हिट भएका थिए। उनीहरू फिल्मका हिरो(हिरोइन भन्दा बढी चर्चित थिए। उनीहरूको गीतले नै फिल्म चल्थ्यो। फिल्म नचले उनीहरूको गीत चल्थ्यो।

यसरी स्टुडियोमा सँगसँगै बसेर उनीहरूले कयौं सुपरहिट गीत रेकर्ड गराए। तर दुवैको करिअरमा एउटा यस्तो विन्दु आयो जहाँ उनीहरूले सँगसँगै गाउन छाडिदिए।

यसको मतलब उनीहरूले युगल गीत गाउन छाडेका होइनन्, रेकर्ड मात्र सँगसँगै बसेर गरेनन्।

यसको कारण उनीहरूबीच झगडा परेर पनि होइन। यो कारण उनीहरूको भेटजस्तै रोचक छ।

गीतकार समीर अन्जानले कपिल शर्मा शोमा आउँदा लता मंगेशकरले किशोर कुमारसँगै बसेर गीत रेकर्ड गराउन नचाहेको बताएका थिए।

उनले भनेका थिए, ‘लताजीले एकपटक मलाई किशोरजीका बारेमा बताउनुभएको थियो। करिअरको एउटा समय लताजी र आशाजी ९लताकी बहिनी तथा गायक आशा मंगेशकर० ले किशोरदासँग गीत रेकर्ड छाडिदिनुभएको थियो। मैले यसबारे लताजीलाई सोधेको थिएँ।’

समीरले लताको जवाफ सुनाउँदै थप भनेका छन्, ‘उहाँले भन्नुभयो, तिमीलाई थाहा छैन समीर किशोरदा कस्ता नटखट मान्छे हुनुहुन्छ। हामी सँगै स्टुडियो जान्छौं। रेकर्डिङ सुरू हुनुअगाडि किशोरदा हामीसँग यति गफ गर्नुहुन्छ, यति चुट्किला भन्नुहुन्छ कि हामी उहाँका कुरा सुनेर हाँस्दा हाँस्दै मुर्छा नै पर्छौं। अनि जब रेकर्ड हुने बेला आउँछ किशोरदा त खुरुखुरु गाएर रेकर्ड गराएर हिँड्नुहुन्छ। हामी भने उहाँको कुरा सुनेर हाँस्दा हाँस्दा थाकेको स्वरले गीत गाउनै सक्दैनौं। त्यसपछि हामीले नै संगीतकारलाई भन्न थाल्यौं कि पहिले किशोरदालाई रेकर्ड गराएर पठाउनुहोस् अनि पछि मात्र हामीलाई बोलाउनुहोस्।’