उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको दाबी

उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको दाबी


काठमाडौं, २१ पुस । उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाले जनाएको छ । यसअघि आज बिहान जापानी तटरक्षक निकायले उत्तर कोरियाले समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताएको थियो ।
दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले समुद्रमा प्रहार गरिएको वस्तु ब्यालेस्टिक क्षेप्यास्त्र भए÷नभएको बारे गरेको अध्ययनबाट त्यो क्षेप्यास्त्र नै भएको पाइएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र परमाणु अस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले आज बिहान प्रक्षेपण गरेको क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटर उडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अघिल्लो वर्षदेखि उत्तर कोरियाले आफूसँग भएको अस्त्र सुदृढ गर्ने कार्यक्रम सुरु गरेको छ । उत्तर कोरियाले सञ्चालन गरेको सञ्चारमाध्ययममा केही दिनअघि नयाँ हाइपरसोनिक क्षेप्यास्त्र, रेलमा आधारित ब्यालेस्टिक क्षेप्यास्त्र र नयाँ लामो दुरीको क्रुज क्षेप्यास्त्र परीक्षणको क्रममा रहेको बताएको थियो । विस्फोटक पदार्थको ठूलो भार बोकेर लामो दुरीसम्म चाँडो उड्न सक्ने भएकाले ब्यालेस्टिक क्षेप्यास्त्रलाई जोखिमपूर्ण मानिन्छ ।
कोरोना भाइरस नियन्त्रणका लागि गरेको नाका बन्दका कारण उत्तर कोरियाको अर्थतन्त्र नाजुक बनेको छ । खाद्य सङ्कट बढेको छ । तर पनि उत्तर कोरियाले नयाँ अस्त्र परीक्षणलाई भने नरोकेको बीबीसीले जनाएको छ ।