Logo

कोरोना संक्रमण दर बढेपछि दिल्लीमा कर्फ्यु, बिहारमा पनि नयाँ प्रतिबन्ध



काठमाडौं, २१ पुस । भारतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढेपछि राजधानी नयाँदिल्लीमा सातामा दुई दिन कफ्र्यु लगाइएको छ । दिल्लीमा प्रत्येक साता शनिबार र आइतबार कर्फ्यु जारी गरिएको हो ।यसअघि दिल्लीमा रात्रिकालीन कर्फ्यु जारी गरिएको थियो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पनि कोरोनाबाट संक्रमित छन् ।
दिल्ली सरकारले अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरेको छ । सबै सरकारी अधिकारीहरुले घरबाटै काम गर्नुपर्ने छ । निजी संस्थाहरुले पनि ५० प्रतिशत कर्मचारीहरुले घरबाट काम गर्नुपर्ने छ । भारतमा राजधानी दिल्ली, महाराष्ट्रको राजधानी मुम्बईमा पावन्दीका बीच पनि कोरोना संक्रमण दर बढ्ने क्रम जारी छ ।
यसैबीच संक्रमण बढेपछि नेपालसँग सीमा जोडिएको बिहारमा पनि नयाँ प्रतिबन्ध जारी गरिएको छ । राज्यभरका प्री–स्कूल र कक्षा एकदेखि कक्षा आठसम्म अनलाइनमार्फत् पढाइने छ । यसैगरी कक्षा नौदेखि १२ सम्मका ५० प्रतिशतको उपस्थितिमा मात्रै पढाइ हुने छ । सिनेमा हलहरु ५० प्रतिशत क्षमतामा मात्र सन्चालन गर्न पाइने छ भने बिहेमा पनि सहभागी हुनेहरुका लागि निश्चित संख्या तोकिएको छ ।
नयाँ नियमहरु ६ जनवरी (बिहीबार)देखि लागू हुने र २१ जनवरीसम्म जारी रहने छ ।
यस्तै संक्रमण दर बढेपछि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स अस्पताल)ले आफ्ना कर्मचारीहरुलाई दिइएको जाडो बिदा रद्द गरेको छ । सोमबार एक सूचना जारी गरी बिदामा बसेकाहरुलाई अस्पतालमा फर्किन भनेको छ । सूचनामा भनिएको छ, ‘कोभिड १९ र ओमिक्रोनको संक्रमण बढेकाले ५ देखि १० जनवरीसम्म दिइएको जाडो बिदा रद्द गर्ने निर्णय गरिएको छ ।’