Logo

साउथ अष्ट्रेलिया र क्वीन्सल्याण्डमा दैनिक कोरोना संक्रमण २ हजारभन्दा बढी




मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्य र साउथ अष्ट्रेलियामा दैनिक कोरोना संक्रमण दर २ हजार नाघेको छ । यससँगै क्वीन्सल्याण्डमा भोलि आईतबारबाट लागू हुनेगरी ईन्डोर भेन्यूहरुमा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने नियम सुरु गरिएको छ । गएको १२ घण्टामा क्वीन्सल्याण्डमा २२ सय ६६ नयाँ कोरोना भाईरसका संक्रमित थपिएका छन् ।

यसैकारण आईतबार दिउँसो १ बजेबाट मास्क लगाउन अनिवार्य गरिएको छ । यसको अर्थ स्थानीय पव, क्लब, क्याफे, ईन्डोर स्टेडियम तथा खेलकुदस्थलहरुमा मास्क अनिवार्य भएको छ । तर यी स्थानमा जाँदा कुर्सीमा बसेको बेलामा भने मास्क अनिवार्य हुने छैन । यसको अर्थ आफ्नो घर बाहेक अन्यत्र ईन्डोरमा जहाँ जाँदा पनि मास्क अनिवार्य भएको छ ।

स्वास्थ्य अधिकारीहरुले सम्भव भएसम्म घरबाट नै काम गर्न पनि अनुरोध गरेका छन् । पछिल्लो बढोत्तरीसँगै क्वीन्सल्याण्डमा कोरोना संक्रमितको संख्या १४ हजार पुगेको छ । प्रिमियर एनेस्तेसिया पलासेले कोरोनाको बढ्दो फैलावट रोक्न अनिवार्य मास्क लगाउन अनुरोध गरेकी छिन् । क्वीन्सल्याण्डका गाउँहरुमा कोरोना अझ बढी फैलिएको पाइएको छ ।

उता साउथ अष्ट्रेलियामा गएको २४ घण्टामा २१ सय कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । दुई हजारभन्दा बढी कोरोना संक्रमित थपिएको यो दोश्रो दिन हो । २३ हजारभन्दा बढी परीक्षणमा यो नतिजा निस्किएको हो ।