काबुल ध्वस्त हुनबाट बचाउन भागेँः पूर्वराष्ट्रपति घानी

काबुल ध्वस्त हुनबाट बचाउन भागेँः पूर्वराष्ट्रपति घानी


काठमाडौं १५ पुस । अफगानिस्तानका पूर्वराष्ट्रपति अशरफ घानीले आफूले देश छोडेर जानुको कारणबारे बताउनुभएको छ । पूर्वराष्ट्रपति घानीले तालिबान यो वर्षको सुरुवातमा काबुल नजिकै आएपछि देश छोड्ने आफ्नो निर्णयको बचाउ गर्नुभएको हो । उहाँले काबुल ध्वस्त हुनबाट बचाउन आफू देश छोडेर भागेको दाबी गर्नुभएको छ ।
तालिबानले गएको अगस्टमा अफगानिस्तानको राजधानी काबुलमा कब्जा गरेपछि पूरै देशको सत्ता आफ्नो हातमा लिएको थियो । अशरफ घानीले १५ अगस्टमा उठ्दा त्यो दिन अफगानिस्तानमा आफ्नो अन्तिम दिने हुने कुनै आभास नभएको बताउनुभएको ’बीबीसी रेडिओ फोर’ को टुडे कार्यक्रमलाई बताउनुभएको छ । काबुल छोड्न विमानमा उडेपछि बल्ल आफूलाई देश छोडिरहेको जस्तो लागेको घानीले बताउनुभयो ।
त्यस समयमा तत्कालीन राष्ट्रपति अशरफ घानीले देश छोडेर जाँदा आलोचनाको सामना गर्नुपरेको थियो । आफूले देश छोड्ने निर्णयलाई सही बताउँदै घानीले यो निर्णय देशलाई बचाउन गरेको बताउनुभयो । उहाँ अहिले संयुक्त अरब इमिरेट्स (यूएई) मा हुनुहुन्छ ।
‘तालिबानका दुई अलग–अलग समूह अलग–अलग दिशाबाट नजिक आइरहेका थिए र उनीहरूबीचको ठूलो द्वन्द्वले ५० लाख बासिन्दा भएको सहरलाई ध्वस्त बनाउने थियो र त्यसले मानिसमा ल्याउने विनाश ठूलो हुने थियो’, घानीले भन्नुभयो ।
तीन महिनापछि घानीले काबुल पतन हुनुको पछाडि केही कुरामा आफू दोष स्वीकार्न तयार भएको बताउनुभएको छ । घानीले आफूले अन्तर्राष्ट्रिय सहयोगमा भरोसा गरेको तर अहिले आफू जीवन तहसनहस भएको बताउनुभयो ।
उहाँले अघि भन्नुभयो, ‘राष्ट्रपतिका सुरक्षा प्रमुख भयभीत हुँदै मेरो नजिक आए र समय निकै कम भएको बताए । त्यसपछि मैले खोस्त सहर जाने निर्देशन दिएको थिएँ तर उनले खोस्त जलालाबादमा तालिबानले कब्जा गरेको उनले बताए । मलाई कहाँ जाने थाहा थिएन । विमान उडेपछि मलाई अफगानिस्तान छोड्दै गरेको थाहा भयो । त्यसैले यो सबै अचानक भएको थियो ।’
पूर्वराष्ट्रपति घानीले आफूले सँगै ठूलो धनराशि लगेको आरोप अस्वीकार गर्दै आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानलाई स्वीकार्ने बताउनुभएको छ ।