आधुनिक युगका डार्बिन भनेर चिनिने प्रख्यात वैज्ञानिक विल्सनको निधन

आधुनिक युगका डार्बिन भनेर चिनिने प्रख्यात वैज्ञानिक विल्सनको निधन


काठमाडौं, १२ पुस । जैविक विविधतासम्बन्धी विख्यात अनुसन्धानकर्ता एवं प्राध्यापक एड्वार्ड इ विल्सनको ९२ वर्षको उमेरमा निधन भएको छ । आधुनिक युगका डार्बिन भनेर समेत चिनिने जीवशास्त्री विल्सनको आइतबार निधन भएको हो । उनको निधनको खबर ईओ विल्सन बायोडाइभर्सिटी फाउन्डेसनले सोमबार मात्रै सार्वजनिक गरेको हो । हार्वर्ड विश्वविद्यालयमा ४६ वर्ष अध्यापन गरेका प्रा डा विल्सन किट विज्ञानका ज्ञातासमेत थिए । उनले प्राकृतिक छनोट र अन्य कारक तत्वहरूले जीवहरूको बानीमा के–कसरी असर गर्छ भन्नेबारे अनुसन्धान गरेका छन् ।
इभोलुसनरी बायोलोजीमा सन् १९५०को दशकदेखि काम गरे विल्सनले जैविक विविधताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका छन् । विल्सनले विभिन्न क्षेत्रमा किन विविध प्रकारका प्रजाति पाइन्छन् भन्ने विषयमा पनि अनुसन्धान गरेका थिए । कमिलाको भौगोलिक अवस्था, पुराना प्रजातिबाट कसरी नयाँ प्रजातिको विकास भयो भन्ने सम्बन्धमा विल्सनको धेरै योगदान रह्यो । यी अमेरिकी जीवशास्त्रीले संरक्षणको क्षेत्रमा पनि महत्वपूर्ण योगदान दिए । यस्तै, क्रम विकास(इभोलुसन) र किट विज्ञानमा पनि उनको उत्तिकै योगदान रह्यो ।
करिब ३० भन्दा बढी पुस्तक लेखेका उनले दुईपटक पुलित्जर पुरस्कार पाए । उनका पुस्तक ’अन ह्युमन नेचर’ले १९७९ र ’द एन्ट्स’ले १९९१ मा गैरआख्यान विधामा पुलित्जर पुरस्कार पाएको थियो । अमेरिकाको प्रतिष्ठित नेशन मेडल अफ साइन्स पदबाट सम्मानित वैज्ञानिक विल्सनलाई टाइम म्याग्जिनले सन् १९९५मा अमेरिकाका २५ शक्तिशाली व्यक्तिहरूको सूचीमासमेत राखेको थियो ।
एड्वार्ड ओसब्युर्न विल्सन(ई.ओ विल्सन)को जन्म सन् १९२९ मा अमेरिकाको अल्बामा भएको थियो । उनले अल्बामा विश्विवद्यालयबाट स्नातक र स्नातकोत्तर गरे । त्यसपछि हार्वर्डबाट पीएचडी गरे । बाल्यकालमा माछा मार्ने क्रममा आँखामा चोट लागेपछि उनी साना जीवतर्फ आकर्षित भएका थिए । आँखामा लागेको चोटका कारण ठूलो वस्तुहरु नजिकबाट हेर्न नसक्ने भएपछि साना वस्तुहरुमा उनको रुची थियो । त्यही बेला उनले कमिलाको अध्ययनमा लागेका थिए ।
कमिलाहरु संवाद गर्नका लागि ग्रन्थीबाट विशेष प्रकारको रसायन (फेरोमन एक्सिक्रिएसन) निकालेर संवाद गर्ने पत्ता लगाएका थिए । ’फायर एन्ट’ को बारेमा उनले अमेरिकामा पहिलोपटक पत्ता लगाएका थिए । जुन कमिला पछि गएर अमेरिकाको दक्षिण क्षेत्रमा एक शत्रु जीवको रुपमा विकासित भएको थियो ।