चीनले दियो अमेरिकालाई गम्भीर चेतावनी !

चीनले दियो अमेरिकालाई गम्भीर चेतावनी !


काठमाडौं, २१ मंसिर । अमेरिकाले आउँदो वर्ष चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणापछि चीनले पनि कडा चेतावनी दिएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाले यस गल्तीको मूल्य चुकाउनुपर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले अमेरिकाको यो घोषणालाई षड्यन्त्र भन्दै सफल नहुने बताएको हो ।
चीनले अघि भनेको छ, ‘यसबाट केवल दुई देशबीचको द्विपक्षीय कुराकानी र विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगमा क्षति पुग्नेछ ।’ यसका साथै चीनले जवाफी कारबाहीको चेतावनी दिएको छ ।
अमेरिका केवल बेइजिङ शीतकालीन ओलम्पिकमा बाधा पुर्याउने कोसिस गरिरहेको र यसले अमेरिकालाई नैतिक अधिकार र विश्वसनियतामा असर पुग्ने चीनले भनेको छ ।
चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।
अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडेनले आउँदो वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कुटनीतिक बहिष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पार्नुभएको छ ।