Logo

दक्षिण अफ्रिकामा कोरोनाको नयाँ भेरियन्ट देखिएपछि विभिन्न देशले लगाए उडानमा प्रतिबन्ध



काठमाडौं, १० मंसिर । दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट देखापरेको छ । बेलायतका विज्ञहरुका अनुसार उक्त भेरियन्ट अहिलेसम्म देखापरेका कोरोना भाइरसको सबैभन्दा खराब भेरियन्ट रहेको दाबी गरेका छन् । यो भेरियन्टलाई ’बी.१.१.५२९’ नाम दिइएको छ । मंगलबार पुष्टि भएको यो भेरियन्ट धेरै संख्यामा उत्परिवर्तित भएको बताइएको छ । वैज्ञानिकहरुले कोभिडविरुद्ध बनेका खोप नयाँ देखिएको भेरियन्टमा प्रभावकारी नहुन पनि सक्ने भनेर चिन्ता व्यक्त गरिरहेका छन् ।
दक्षिण अफ्रिकास्थित सेन्टर फर इपिडेमिक रेस्पोन्स एण्ड इनोभेसनका निर्देशक प्राध्यापक टुलिओ डी ओलिभियराले यसअघि देखिएका भेरियन्टमध्ये यो धेरै भिन्न र उत्परिवर्तनको अस्वाभाविक समूह रहेको बताएका छन् । उनले यो भेरियन्टमा ५० वटा उत्परिवर्तन भएको र ३० भन्दा बढी उत्परिवर्तन केवल स्पाइक प्रोटिनमा मात्रै भएको बताएका छन् । वैज्ञानिकहरुका अनुसार भाइरसको धेरै उत्परिवर्तनहरू खराब हुन्छन् भन्ने हुँदैनन् तर, उत्परिवर्तनले के गर्छन् भन्ने थाहा पाउन भने जरुरी हुन्छ ।
हालसम्म कोभिड यो भेरियन्ट बोत्सवाना, दक्षिण अफ्रिका र हङकङमा गरी ५९ जनामा देखिएको छ । भेरियन्ट फैलिरहँदा बेलायतले दक्षिण अफ्रिकी ६ वटा देशका नागरिकलाई यात्रा प्रतिबन्ध लगाउने भएको छ । बेलायतले नयाँ भेरियन्ट नभित्रियोस् भनेर ६ वटा अफ्रिकन देशको आवगमनमा प्रतिबन्ध लगाएको हो ।
विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे बुझ्न दक्षिण अफ्रिकी अधिकारीहरूसँग बैठक बस्दैछन् । यदि यो भेरियन्ट अफ इन्ट्रेस्ट वा भेरियन्ट अफ कन्सर्नको रुपमा पुष्टि भयो भने यसलाई ग्रिक नाम दिइने बताइएको छ । संगठनले यो भेरियन्टको प्रभाव बुझ्नका लागि अझै केही हप्ता लाग्ने बताएको छ । दैनिक २०० जस्तो कोभिडको संक्रमण देखिरहेकोमा दक्षिण अफ्रिकामा बिहीबार मात्र २ हजार ४६५ जनामा संक्रमण पुष्टि भएको थियो । दक्षिण अफ्रिकामा हालसम्म २४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।