भारतमा अति नै विवादमा परेको कृषिसम्बन्धी तीन कानुन फिर्ता

भारतमा अति नै विवादमा परेको कृषिसम्बन्धी तीन कानुन फिर्ता


काठमाडौं, ३ मंसिर । छिमेकी मुलुक भारतमा अति नै विवादास्पद कृषिसम्बन्धी तीन वटा कानुन सरकारले फिर्ता लिएको छ । झन्डै एक वर्ष अगाडि संसद्बाट पारित भएका तीन कानुनका विरुद्धमा किसानले आन्दोलन गसिरहेका थिए ।
आन्दोलनका क्रममा सयौँको ज्यान गयो भने हजारौँ घाइते भए । तर पनि किसानहरूले आन्दोलन जारी राखेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै कानुन फिर्ता लिइएको घोषणा गर्नुभएको हो । देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, सबै जनालाई आज म यो अनुरोध गर्न चाहन्छु कि हामीले विवादमा परेका र विरोध भइरहेका कृषिसम्बन्धी तीन वटै कानुन फिर्ता लिने निर्णय गरेका छौँ ।
उहाँको घोषणापछि किसानहरूले खुसीयाली मनाएका छन् । उनीहरूको आन्दोलन गरेको सङ्गठनले यो घोषणालाई आफ्नो ठूलो जितको रूपमा लिइएको जनाएको छ । अरूले पनि विवादास्पद र विरोध भइरहेको कानुन फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेका छन् । किसानहरूको बसोबास धेरै रहेको पन्जाब र उत्तर प्रदेश राज्यमा हुन लागेको चुनावलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले किसानहरूलाई खुसी बनाउने गरी विवादास्पद कानुन फिर्ता लिएको घोषणा गर्नुभएको हो ।
हजारौँ किसानले अघिल्लो वर्षको नोभेम्बरदेखि ती कानुनको विरोधमा राजधानी दिल्लीको सीमा क्षेत्रमा धर्ना दिइरहेका थिए । बेला–बेलामा देशव्यापी कठोर आन्दोलन पनि गरेका थिए । आन्दोलन चर्किँदै गएपछि प्रदर्शनकारी र सरकारी पक्षका बीचमा पटक–पटक वार्ता भएका थिए । तर ती सबै वार्ता विफल भएका थिए ।
वार्ताका क्रममा किसानहरूले ती कानुनले कृषिमा निजी क्षेत्रको आगमन सहज बनाउने र त्यसले आफ्नो आयमा असर गर्ने बताउँदै आएका थिए भने सरकारको पक्षबाट वार्तामा बसेका मन्त्रीहरूले ती कानुन किसानका लागि लाभदायक भएको दाबी गरेका थिए । किसानहरूलाई यसको फाइदाबारे बुझाउने थुप्रै प्रयास गरिए पनि आफूहरू असफल भएकाले फिर्ता लिनु परेको सरकारी पक्षको भनाइ छ । सरकारी पक्षले कानुन फिर्ता लिए पनि कानुन ठिक नै रहेको दाबी गरिरहेकाले अहिले नै पूरै आन्दोलन फिर्ता लिन भने नसकिने किसान नेता राकेश टिकैतले बताउनुभएको छ ।
सरकारले फिर्ता लिने निर्णय गरे पनि संसदबाट कानुन खारेज गरेपछि मात्रै आफ्ना आन्दोलनका कार्यक्रम अन्त्य गर्ने उहाँले स्पष्ट पार्नुभयो ।
झन्डै ४० किसान सङ्गठनको छाता संस्था संयुक्त किसान मोर्चाले सरकारले गरेको अनुरोधका बाबजुद पनि विरोधबाट पछि हट्न अस्वीकार गरेको थियो । जाडोमा पानीको फोहरा र अश्रुग्यास सहँदै भारतीय किसानहरूले आन्दोलन गरिरहेका थिए ।
किसानहरूले अत्यन्त जाडो र अत्यन्त गर्मीको बेलामा पनि कोरोना भाइरसको जोखिम मोल्दै निरन्तर आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा ठन्डी, गर्मी र कोरोनाका कारण केही किसानको ज्यानसमेत गएको थियो ।